२१ असार २०८३, आइतबार
संकटमा शंकर

लुम्बिनीका मुख्यमन्त्रीको खस्किँदो धरातल : एमाले सांसदले धमामध किन छाड्दैछन् शंकरको साथ ?

बैशाख २३, २०७८
लुम्बिनीका मुख्यमन्त्रीको खस्किँदो धरातल : एमाले सांसदले धमामध किन छाड्दैछन् शंकरको साथ ?

२०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ दाङ क्षेत्र नम्बर २ (ख) मा नेकपा एमालेबाट उम्मेदवार सिफारिश गर्दा पहिलो नम्बर टीकाराम खड्काको नाम थियो भने दोस्रो नम्बरमा अमरबहादुर डाँगी क्षेत्रीको । दोस्रो नम्बरमा नाम रहेका डाँगीले दाङकै नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै जोडबलमा टिकट पाए । डाँगीले निर्वाचन पनि जिते । 

दाङका पुराना कम्युनिष्ट नेतामा पर्ने डाँगी अहिले आएर एमाले छाडेर माओवादीलाई रोज्न पुगे । तर, निष्कलंक राजनीतिक नेता तथा समाजसेवामा समेत सधैँ लाग्ने डाँगीले ५० वर्षे राजनीतिक यात्रामा आफ्ना सहकर्मी तथा देशकै सिनियर तथा आफ्नै गाउँले मुख्यमन्त्रीको साथ किन छाडे त ? लुम्बिनी प्रदेशमा यो प्रश्न अहिले सर्वाधिक चासोमा छ ।

दाङका प्रदेशसभा सांसद उत्तरकुमार वलीको दुई वर्ष अगाडि सडक दुर्घटनामा मृत्यु भयो । वलीको मृत्युपछि उपनिर्वाचनमा त्यो क्षेत्रमा प्रभावशाली (नेकपा) नेता  शोभाराम बस्नेत उम्मेदवारका प्रमुख दाबेदार थिए । उनै बस्नेत उम्मेदवार बन्छन् भन्ने धेरैले बुझेका थिए । तर, मुख्यमन्त्री पोखरेलले उपनिर्वाचनमा उत्तरकी धर्मपत्नी विमला खत्री वलीलाई उम्मेदवार बनाउने बताए ।  

मुख्यमन्त्रीले नै भनेपछि जिल्लाका अन्य नेताहरू बोलेनन् । नेकपाबाट वलीले उपचुनाव जितिन् । वलीलाई पोखरेलकै जोडबलमा राजनीतिमा ल्याइए पनि वलीले पनि अहिले आएर माओवादी केन्द्रलाई रोजिन् । जुन कुरा उनले मुख्यमन्त्री पोखरेलले पुनः नियुक्ति हुँदाको दिन बुटवलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकी थिइन् ।

कपिलवस्तुका एमाले नेता तथा प्रदेश सभा सदस्य दृगनारायण पाण्डेले पनि सोमबार सांसद पद र एमाले त्याग गरेको घोषणा गरे । नेपालको संसदीय राजनीतिमा सांसद पद नै त्याग गर्ने घटना बिरलै हुने गर्छ ।

प्रदेशको सामाजिक विकास समितिका सभापति समेत रहेका पाण्डेले एमाले र सांसद पद नै त्याग गरेपछि धेरै आश्चर्यमा परे । पाण्डेले राजीनामा दिइसकेपछि उनको स्थान रिक्त भइसकेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले बताए । सोही दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर पुनःनियुक्तिको तयारी गरिरहेका थिए ।

कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट सूर्य चुनाव चिह्न लिएर स्वतन्त्र समूहबाट चुनाव जितेका धर्मबहादुर लाल श्रीवास्तवले पनि सोमवार कांग्रेस–माओवादीसहितको चार दलीय गठबन्धनमा गएर कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने भनी हस्ताक्षर गरे । 

सूर्य चिह्नबाट चुनाव जितेका पश्चिम नवलपरासी क्षेत्र नम्बर १ (क) का सांसद अजय शाहीले पनि पोखरेलविरुद्धको गठबन्धनमा हस्ताक्षर गरेका थिए ।

स्वतन्त्र राजनीतिक समूह (हृदयेश त्रिपाठी) का श्रीवास्तव र शाहीलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री समेत रहेका हृदयेश त्रिपाठीको जोडबलले पुनः एमालेमै फर्काइएको छ । सांसदद्वयले सोमबार विज्ञप्ति निकालेर मुख्यमन्त्री पोखरेललाई आफूहरूको साथ रहेको जनाए ।

सातै प्रदेशका मुख्यमन्त्रीमध्ये सिनियर र बौद्धिक नेतामा पर्ने पोखरेलप्रति लुम्बिनीमा आफ्नै सांसदहरू यति धेरै असन्तुष्ट किन छन् भन्ने प्रश्न यतिबेला निकै पेचिलो बनेको छ । उनकै गृह जिल्लाका सांसदहरूले पोखरेलको साथ छाड्दै गएपछि पार्टीमा समीक्षा गर्नुपर्ने अवस्था आएको एमालेकै नेताहरू बताउँछन् । एमाले प्रदेश इञ्चार्ज समेत रहेका पोखरेलले किन सांसद समेत जोगाउन सकेनन् त ?

वैशाख १९ यता एकपछि अर्को गर्दै सांसदहरूले पोखरेलको साथ छाड्दै हिँडेपछि पोखरेलले एमालेलाई नै समर्थन गर्ने बताएका श्रीवास्तवलाई सोमवार शिक्षा तथा सामाजिक विकास मन्त्री बनाएका छन् । 

‘पोखरेलको राजनीतिक धरातल प्रस्ट देखियो’

पार्टीकै नेताहरू मुख्यमन्त्री पोखरेलको राजनीतिक धरातल यस प्रकरणले प्रस्ट पारिदिएको बताउँछन् । दाङका एमाले नेता टीकाराम खड्काले भने, ‘आफ्नै गृह जिल्लाका आफ्नै सांसदले उनको साथ छाडेपछि उनको राजनीतिक धरातल के रहेछ भन्ने पुष्टि भएको छ ।’

‘पोखरेलले साँघुरो घेराभित्र र गुटबन्दीको राजनीति गर्छन्,’ खड्काले लोकान्तरसँग भने, ‘जिल्लामा आफू बलिएको भएको दाबी गर्ने पोखरेलको राजनीतिमा भूकम्प गयो । विमला, अमरबहादुर र दृगनारायणले साथ छाडेपछि ।’
पोखरेलले सांसदहरूको विश्वास जित्न त सकेनन् नै, आफ्नै गृहजिल्लामा समेत उनलाई अविश्वास गरियो । 

‘जसलाई पायो त्यसैलाई टिकट दिँदाको परिणाम’

एमाले दाङका नेता हुकुमबहादुर बस्नेतले पार्टीले जसलाई पायो त्यही व्यक्तिलाई टिकट दिँदाको परिणाम अहिले देखिएको दाबी गरे ।

यसलाई मुख्यमन्त्रीसँग जोडेर हेर्न नहुने उनको भनाइ छ ।

‘जिल्लाको राजनीतिक द्वन्द्व र मुख्यमन्त्रीसँगको असन्तुष्टिले सांसदले पार्टी छाडेको जस्तो मलाई लाग्दैन,’ बस्नेतले भने, ‘विमला राजनीति पृष्ठभूमिको व्यक्ति नै थिइनन् । उनलाई माओवादीले प्रभावमा परे होलान् । अमरबहादुर पुरानो नेता हो । उहाँको मनस्थिति के कारण चेञ्ज भो, उहाँसँग सम्पर्क गर्दैछु, बुझ्दैछु,’ बस्नेतले थपे, ‘पार्टीले टिकट दिँदा गम्भीर भएर सोच्नुपर्ने बेला आयो । पार्टीमा आउनेबित्तिकै टिकट दिनुहुन्न भन्ने सन्देश पनि हो ।’ 

‘राम्रो सन्देश गएन’

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले सांसदहरूले विश्वासघात गरेको बताए ।

‘मुख्यमन्त्रीको कसैसँग पनि अनौपचारिक रूपमा घुलमिल हुने बानी पनि छैन,’ चौधरीले भने, ‘मुख्यमन्त्रीका गृह जिल्लाका सांसदले अर्को पार्टीमा गए भन्दा राम्रो सन्देश गएन । मूल नेतृत्वले सांसदलाई समेट्न नसकेको बुझाइ भयो । नेतृत्वले कमजोरी गरेको त देखियो नि ।’ 

अब पार्टीले यस विषयमा समीक्षा गर्ने उनको भनाइ छ ।

‘सामन्ती पारा छ’

एमाले दाङका नेता तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले शंकर पोखरेलको व्यवहार, कार्यशैली, चिन्तन सामन्ती पाराको रहेको आरोप लगाए ।

‘जिल्लामा उहाँको राजनीतिक धरातल धेरै कमजोर छ,’ चौधरीले भने, ‘आफैँले उम्मेदवार बनाएका सांसदले साथ छाड्नुले उहाँको राजनीतिमा ठूलो संकट आएको बुझ्न सकिन्छ । पोखरेलमा जमिनदारी पारा छ ।’

राजनीतिमा सबैसँग घुलमिल नहुने व्यवहारमा परिवर्तन आवश्यक रहेको चौधरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्