०३ असार २०८३, बुधबार

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि माधव नेपालको दौडधुप

बैशाख २४, २०७८
प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि माधव नेपालको दौडधुप

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन् ।

नेता नेपालले बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । 

कांग्रेस सभापति देउवासँग १ घण्टा वार्तालापपछि नेपाल राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेका हुन् । 

नेपाल विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा रहेको जनाइएको छ । यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहमत देखिएका छन् ।

देउवाले भने पहिला नेपाल पक्षका सांसदले राजीनामा दिनुपर्ने अडान लिएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार देउवालाई भेटेर ‘अर्ली इलेक्सन’मा मिलेर जान प्रस्ताव गरेका थिए ।

नेपालले बुधवार माओवादी केन्द्रका अध्यक्ष दाहाल, जसपा नेता यादवसँग छलफल चलाएका थिए । नेपालले राष्ट्रिय सभामा रिक्त पदमा आफूनिकट डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति गराए । माओवादी छाडेका गृहमन्त्री रामबहादुर थापाको रिक्त पदमा डा. देवकोटालाई उठाउने भएपछि एमालेबाट उम्मेदवार निश्चित हुन सकेको छैन ।

थापालाई उम्मेदवार बनाउने तयारी गरेको एमालेलाई विपक्षीले देवकोटा अघि सारेपछि दबाब बढेको छ । 

एमालेको बिहीवार बसेको स्थायी समितिको बैठकले जित्ने निश्चित भएपछि मात्रै उम्मेदवार तय गर्ने निर्णय गरेको छ । बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नो जीत निश्चित भएपछि मात्रै उम्मेदवारी घोषणा गर्ने निर्णय भएको बताए ।

‘राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा जीत सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिनुभएको छ,’ प्रवक्ता ज्ञवालीले भने, ‘मतदातासँग कुराकानीपछि उम्मेदवार घोषणा गर्ने निर्णय भएको छ ।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले यसअघि थापालाई नै उम्मेदवार बनाउने बताएका थिए ।

बिहीवारको बैठकमा नेपाल पक्षको कारबाही फिर्ता गर्नुपर्ने विषयमा ओलीलाई अन्य नेताले दबाब दिएका छन् । कारबाही फिर्ता गर्दा पनि विपक्षीको साथमा गए मात्रै थप कारबाही गर्नुपर्ने उनीहरूको मत छ । वरिष्ठ नेता नेपालसहित ४ जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको जनाइएको छ । नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ । अन्य ३० प्रतिनिधिसभा सदस्यलाई पनि स्पष्टीकरण सोधिएको छ ।

एमाले दोस्रो तहका नेताबीच बिहीवारै छलफल भएको छ । अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच पार्टीलाई एकजुट बनाउने र विश्वासको मतका विषयमा छलफल भएको हो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्