
स्थानीय तहले क्वारेन्टीन तथा आइसोलेसन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शय्याको आइसोलेसन (कोरोना अस्पताल) कक्ष निर्माण गरेको छ ।
कोभिड–१९ को दोस्रो चरणको संक्रमणले जिल्लामा आक्रान्त बनाउन थालेपछि बल्ल गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको हो ।
गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई अक्सिजनसहित ३५ शय्याको आइसोलेसन कक्ष बनाइएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए ।
२ नगरपालिका तथा ७ गाउँपालिकासहित ९ स्थानीय तह रहेको जिल्लमा अहिलेसम्म अन्य कुनै पनि स्थानीय तहले आइसोलेसन कक्ष निर्माण गर्न सकेका छैनन् । पूर्वीचौकीले निर्माण गरेको आइसोलेसन कक्षमा अस्पतालमै प्रयोग हुने ३५ शय्या जडान गरिएको र आइसोलेसन निर्माण तथा व्यवस्थापन गर्ने काम सम्पन्न भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए ।
आइसोलेसनमा अक्सिजन सिलिण्डर राख्नका लागि आपूर्तिकर्तासँग समन्वय पनि भइरहेको उनले बताए । गाउँपालिकाले सञ्चालनमा ल्याएका २ बसलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रूपमा प्रयोग गर्न सकिने कार्यपालिकाको निर्णय भएको बताइएको छ ।
कोभिड–१९ बाट संक्रमित सबै बिरामीको गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।