

काठमाडौं, १६ जेठ - कोपेनहेगनस्थित नेपाली राजदूतावासले आज २०७४ जेठ १५ गते राजदूतनिवासमा एक रिसेप्सन सहितको कार्यक्रम गरी दशौं गणतन्त्र दिवस मनायो । उक्त कार्यक्रममा कोपेनहेगनस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु समेतलाई आमन्त्रण गरिएको थियो । सो कार्यक्रममा बोल्दै महामहिम राजदूत श्री युवनाथ लम्सालले गणतन्त्र दिवसको महत्वको बारेमा प्रकाश पार्दै विदेशमा बस्ने सबै नेपाली देशका प्रतिनिधि भएको र सोही अनुसार सवैले आ˗आफ्नो तर्फवाट नेपालको हकहित प्रवर्द्धनमा र नेपालको प्रतिष्ठा बढाउन पहल गर्नुपर्ने कुरा बताउनुभयो ।
उक्त कार्यक्रमको संचालन मिनिष्टर काउन्सेलर तथा उपनियोग प्रमुख डोरनाथ अर्यालले गर्नुभएको थियो । सो कार्यक्रममा बोल्दै श्री अर्यालले सेवा प्रवाहलाई प्रभावकारी बनाउन हालै वेभसाइट अपडेट गरी सहज बनाइएको, राजदूतावासको फोनमा कुनै कारणवस समपर्क हुन नसकेमा वा कुनै जरुरी भएमा उपनियोग प्रमुख र तृतीय सचिवको मोवाईल नम्वरमा सीधै फोन गर्न मिल्ने गरी वेभसाइट अपडेट गरिएको कुरा बताउनुभयो ।
डेनमार्कस्थित सबै नेपाली संघ संगठनहरुको तर्फबाट बोल्दै डेनमार्कस्थित गैरआवासीय नेपाली संगठनका अध्यक्ष श्री दिपेन्द्र चुडालले कार्यक्रममा आमन्त्रणको लागि धन्यवाद दिंदै डेनमार्कमा प्रायःजसो नेपालीहरु उच्च शिक्षा हासिल गरेका व्यक्तिहरु रहेका, सबै संघ संस्थाहरु एक आपसमा अत्यन्तै मिलेर उदाहरणीय रुपमा काम गर्दै आएको र भविष्यमा पनि एक अर्कालाई गालीगलौज भन्दापनि ईज्जत दिएर सकारात्मक सोच लिएर अघि बढ्नु पर्ने कुरा बताउनुभयो । करिब ३० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा सबैलाई दुईदुई मिनेट बोल्न समय समेत प्रदान गरिएको थियो ।