
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभामा सोमवार प्रधानमन्त्री ओलीले विश्वासको मत लिदै छन् ।
संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकले ओलीको विपक्षमा मतदान गर्ने र वैकल्पिक सरकार गठनको पहल गर्ने निर्णय गरेको हो । कांग्रेसले विश्वासको मत फेल गराउन अन्य दललाई समेत आह्वान गर्ने निर्णय गरेको छ ।
‘वैशाख २७ गतेको बैठकमा ओलीको विपक्षमा मतदान गर्ने र विश्वासको मतलाई असफल बनाउन अन्य अन्य दललाई आह्वान गर्ने निर्णय भएको छ’ सांसद एवं केन्द्रीय सदस्य डा डिला संग्रौलाले लोकान्तरसँग भनिन् ।
बैठकमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले वैकल्पिक सरकार गठनको लागि गृहकार्य भइरहेको बताएका थिए । उनले कांग्रेस आफैले अविश्वासको प्रस्ताव ल्याउन पहल गरेपनि समय परिपक्व नभएको बताएका थिए । केन्द्रीय समितिबाट चैत्र २० गते वैकल्पिक सरकार गठनको निर्णय भएदेखि नै देउवाले अन्य दलहरूसँग छलफल चलिरहेको बताएका थिए ।
बैठकमा सांसदहरुले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आग्रह गरेका अर्का एक सांसदले लोकान्तरलाई जानकारी दिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि समय तोकिसकेको अवस्थामा अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने जवाफ नेतृत्वले दिएको एक सांसदले बताए ।
आफ्नो कुरा राखेर सभापति देउवा बाहिरिएका थिए । बैठकको अन्तिममा प्रमुख सचेतक बालकृष्ण खाणले विश्वासको मतको प्रस्ताव असफल बनाएर वैकल्पिक सरकार गठनमा कांग्रेस लाग्ने बताएका थिए ।
दलहरूसँग छलफल गर्नु छ भन्दै देउवा बैठकबाट बाहिरिएका थिए । देउवाले बुधवार प्रधानमन्त्री ओली, बिहीवार एमाले नेता माधव नेपाल र शुक्रवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।
‘विश्वासको मत लिने प्रस्ताव असफल भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको बेला बैकल्पिक सरकार गठनको लागि पहल गर्ने तयारी छ’ कांग्रेसका एक पदाधिकारीले भने ।
कांग्रेसले प्रधानमन्त्री ओलीले आइतवारको लागि बोलाइएको संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।