
कोरोना महमारी संक्रमणको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभियान चालेको छ । उपमहानगरले अक्सिजन बैंकको स्थापना गरी संक्रमितहरुको घर–घरमै सेवा पु¥याउने तथा चिकित्सकीय परामर्ससहित औषधिहरु उपलब्ध गराउने काम भइरहेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी गराए ।
महामारी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसहित यहाँका सामाजिक संघसंस्थाहरुसंगको सहकार्यमा उपमहानगरले अभियान जारी राखेको रेग्मीले बताए । कोरोना संक्रमित भएका र आइसोलेशनमा बसेकाहरुलाई प्राथमिक उपचारमा सहयोग पुर्याउने तथा अस्पतालसम्म लैजान सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिएको प्रवक्ता रेग्मीले जानकारी गराए ।
अक्सिजन बैंकबाट आइसोलेशनमा रहेकाहरुलाई सेवा उपमहानगरपालिका भित्र होम आइसोलेसन, होटल आइसोलेसन र सामुदायिक आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई लक्षित गरी उपमहानगरले अक्सिजन बैंक सञ्चालन गरेको छ ।
निश्चित मापदण्डका आधारमा अक्सिजन आवश्यक पर्नेहरुलाई आपतकालिन रुपमा २४ सै घण्टा सेवा प्रदान गरिने उपमहानगरले जनाएको छ ।
बैंकमार्फत हालसम्म २७० जना बढी संक्रमितहरुले घरमै बसेर सेवा लिएका छन् । अहिले पनि २१० ले सेवा लिइरहेको उपमहानगरले जनाएको छ । पाँचजना स्वास्थ्यकर्मीहरुसहितको ४ वटा समूह निर्माण गरी संक्रमितहरुको घरदैलोमै सेवा प्रदान गर्ने गरिएको छ । अक्सिजन बैंकले स्थापना भएको ५ दिनको अवधिमा दैनिक ५०÷६० जना संक्रमितहरुलाई घरमै भेटेर सेवा प्रदान गर्ने गरेको छ ।
लायन्स क्लब अफ बुटवल एरिया ४ ले सिलिण्डरहरु रिफिल गर्नुका साथै बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले प्रदान गरेको ३५ वटा सिलिण्डरबाट अक्सिजन बैंकको सुरुवात गरिएको थियो । बैंक सञ्चालनका लागि रुपन्देही उद्योग संघ, औषधि व्यवसायी संघ, बुटवल उद्योग बाणिज्य संघ र गौतमबुद्ध सामुदायिक मुटु हस्पिटलले सहकार्य गरेका छन् । अक्सिजन बैंकमा हाल ठूला र साना गरेर करिब एक सय ५० वटा मात्र अक्सिजन सिलिण्डर रहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।
आइसोलेसन निर्माण तथा घरदैलोमै आयुर्वेद औषधि
बुटवल उपमहानगरले कोरोना संक्रमणको दोस्रो लहरसँगै आइसोलेशन सेन्टर निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । उपमहानगरले हाल बुटवल–११ देवीनगरमा अवस्थित एन्फा एकेडेमीमा ४० जना क्षमताको आइसोलेशन सेन्टर स्थापना गरी सञ्चालन गरिरहेको छ ।
उपमहानगरमा थप आइसोलेशन आवश्यक परेको अवस्थामा बुटवल–११ र बुटवल–१३ नवनिर्मित वडा भवनलाई आइसोलेशनका रुपमा प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको छ । यसैगरी संक्रमितको घरदैलोमै भिटामिन सि, भिटामिन बि कम्प्लेक्स, जिकं, पेन्टाप्राजोल, सिटामोल, गिलोये चुर्ण, अमला चुर्ण सहितका आयुर्वेद औषधि वितरण गरेको छ । यसैक्रममा दोस्रो लहर सुरु भएयता बुटवलका विभिन्न वडाहरुमा घरदैलोमा पुगेर एक हजार बढीलाई निशुल्क आयुर्वेद औषधि वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।