
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत दिने, नदिने वा तटस्थ बस्ने भन्ने विषयमा जनता समाजवादी पार्टीले संसदीय दलमा ह्वीप नलगाउने निर्णय गरेको छ। आइतबार बसेको जसपा पदाधिकारीको बैठकले सांसदलाई जे मन लाग्यो त्यो गर्न छुट दिने निर्णय गरेको हो ।
निर्णयानुसार कोही सांसद तटस्थ बस्न चाहे तटस्थ बस्न सक्नेछन् भने कसैलाई विश्वासको पक्षमा मतदान गर्न मन लागे पक्षमा र विपक्षमा मतदान गर्न मन लागे विपक्षमा पनि मतदान गर्न सक्नेछन् ।
जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईको टोखास्थित निवासमा करिब साढे दुई घण्टा चलेको बैठकमा कुनै एउटा लाइनबारे निर्णय हुन नसकेपछि यस्तो निर्णय लिइएको हो । यो निर्णयको अन्तर्य पार्टीलाई फुटबाट जोगाउनका लागि भएको एक पदाधिकारीले लोकान्तरलाई बताए।
‘पक्ष वा विपक्षमा मतदान नगरी पार्टी तटस्थ बस्नु पर्छ भन्ने प्रस्ताव जसपका अध्यक्ष महन्थ ठाकुरको थियो भने ओली सरकारको विपक्षमा मतदान गर्नु पर्छ भन्नेमा उपेन्द्रजी आफ्नो पूर्ववत अडानमा बस्नु भयो’, बैठकमा सहभागी ती पदाधिकारीले लोकान्तरसँग भने, ‘यस्तो अवस्थामा पार्टी फुटबाट जोगाउनका लागि मतदानमा सांसदलाई स्वायत्तता दिने निर्णय गरिएको हो।’
कुल ३२ जना सांसद रहेको जसपामा दुई जना निलम्बित भएका कारण ३० जनाले मतदान गर्न पाउनेछन्। अहिलेसम्म साविक राजपा नेपाल र साविक समाजवादी पार्टीमा समान १६–१६ जना सांसद छन् । जसपाका एक सांसदका अनुसार पूर्व राजपाका महेन्द्र राय यादव उपेन्द्र यादवको साथ लागेका कारण अहिले सम्मको परिस्थितिमा पूर्वराजपा खेमामा १५ जना र पूर्व समाजवादी खेमामा १७ जना सांसद छन्।

साविक राजपाले ओलीको पक्ष वा विपक्ष कुनै तर्फ मतदान नगरेर तटस्थ बस्ने रणनीति लिएको थियो। सोही रणनीति बताउन महन्थ ठाकुर र राजेन्द्र महतोले आइतवार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। सो भेटलगत्तै ठाकुर र र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेर आफ्नो धारणा सुनाएका थिए।
जसपाले उक्त निर्णय गरेपछि प्रधानमन्त्री ओलीको विपक्षमा पूर्व राजपाका महेन्द्र राय यादव समेत जोडेर तत्कालीन समाजवादी पार्टीका १६ जना समेत गरेर कुल १७ जनाले विपक्षमा मतदान गर्ने जस्तो देखिएको छ। त्यसैगरी पूर्व राजपाको तर्फबाट कुल १५ जनाले तटस्थ बस्ने कुरा अहिले तत्काल देखिएको छ।
जसपाले एउटा ठोस निर्णय गरेको भए हुन्थ्यो, तर छुट दिनु भनेको पार्टी भित्र अनुशासन नभएको जस्तो देखिएको जसपाका एक जना कार्यकारिणी सदस्यले बताए। ‘यो निर्णयका कारण सांसदहरूलाई किनबेच गर्न छुट दिएको जस्तो भयो,’ ती कार्यकारिणी सदस्यले भने, ‘पद, पैसा, प्रलोभन आदिमा दुबै पक्षले मत तान्ने सम्भावना बढेको छ।’ जसपाको उक्त निर्णयका कारण पार्टीका कुनै पनि सांसद माथि कुनै पनि नेताको नियन्त्रण नरहने तथा चलखेलको मौका बढाएको उनले बताए।
महन्थ ठाकुर निकट जसपा नेता डा सुरेन्द्र कुमार झा पनि पार्टीको यो अनपेक्षित निर्णय भएको बताउँछन् । ‘मधेशको माग मुद्दा सम्बोधन नभएको अवस्थामा माग प्रति प्रतिवद्ध भएर आफ्नो एजेन्डा स्थापित गराउने ठूलो अवसर पार्टीले गुमाएको छ,’ झाले भने, ‘मधेश आन्दोलनको लागि पनि यो ठूलो क्षति भएको छ, अहिले कुनै पनि नेताको पक्ष वा विपक्षमा नलागेर तटस्थ बस्ने काम गरेको भए पार्टीको अस्तित्व जोगिन्थ्यो। ’
पार्टीलाई फुटबाट जोगाउनका लागि तत्काल उक्त निर्णय गर्नु परेको जसपाका पदाधिकारीले भने पनि पार्टीमा गम्भीर समस्या भने कायमै रहेको अर्का एक जना सांसदले प्रतिक्रिया दिए । ‘यो त पार्टी पार्टी जस्तो हुँदै भएन, एउटा चौतारी जस्तो भयो, लूज फोरम जस्तो भयो,’ ती सांसदले भने, ‘जसलाई जे मन लाग्छ त्यो गर्ने भनेको त पार्टी नभएर एउटा छुट्टै एनजीओ जस्तो देखियो।’
सर्वसम्मतिले एउटा लाइन लिएर निर्णय गर्न नसक्नु भनेको ६ जना पदाधिकारी नै असफल भएको उनले बताए।
अब के हुन्छ ?
नेकपा एमालेका निलम्बित वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरूले सामूहिक राजीनामा नदिएर ओली सरकारलाई समर्थन गरेको अवस्थामा पूर्व राजपाका सांसदहरूले पनि ओलीको पक्षमा मतदान गर्नेछन्। यदि नेपाल(खनाल समूहले राजीनामा दिए भने पूर्व राजपा तटस्थ बस्नेछ। उपेन्द्र –भट्टराई समूहले आफ्नो पक्षमा २१ जना सांसद रहेको तथा ठाकुर(महतो पक्षले २२ जना सांसद आफ्नो पक्षमा रहेको दावी गर्दै आएका थिए। ‘अब कुन समूहमा कति सांसद छन् त्यो कुरा त सोमबार हुने मतदानबाट सबैले थाहा पाउने नै छन्,’ जसपाका एक सांसदले भने, ‘तर आज रातभरिमा अब हुने चलखेलले कसको पल्ला कति भारी हुन्छ र कुन खेमा तर्फ बहुमत हुन्छ त्यो कुरा पुष्टि हुनेछ।’