
काँग्रेस पदाधिकारीको बैठकले जसपाको ठाकुर पक्षलाई मनाउन नसके एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदको सामूहिक राजीनामा दोस्रो विकल्प हुन सक्ने भन्दै छलफल अघि बढाउने निष्कर्ष निकालेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार बहुमत जुटाउन अनौपचारिक र औपचारिक तहमा सबै पक्षसँग छलफल भइरहेको छ ।
सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीहरूको बैठकमा एमालेको खनाल–नेपाल पक्षले राजीनामा नदिएसम्म बहुमत जुटाउन समस्या पर्ने निष्कर्ष निकालिएको थियो । ‘अहिलेसम्मको कुराकानी सकारात्मक छ, माओवादी, जसपा र झलनाथ–माधवजीहरूसँग पनि कुरा गर्छौं,’ पौडेलले भने, ‘एकसरो कुराकानी गरेपछि ठोस कुरा हुन्छ । राष्ट्रपतिले दिएको समयसीमाभित्रै हामी दाबी पेस गर्न सक्छौं भन्ने लाग्छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको प्रधानमन्त्री नियुक्तिका लागि बिहीबारसम्म समय दिएकी छन् ।
खनाल–नेपाल समूहका कम्तीमा २० सांसदले राजीनामा दिए वैकल्पिक सरकार बन्न सक्ने हिसाब कांग्रेस र माओवादी केन्द्रका नेताहरूले गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमा मतदान हुनुअघि नै राजीनामा दिने अनौपचारिक समझदारी खनाल–नेपाल पक्षका सांसदले कांग्रेस र माओवादीसँग गरेका थिए । तर अन्तिममा राजीनामाबाट पछि हट्दै ओलीलाई पनि विश्वासको मत नदिईकन यो पक्ष बसेको थियो । त्यसैले यो पक्षले सरकार बनाउन सहज हुने गरी राजीनामा देला भन्नेमा कांग्रेस नेताहरू ढुक्क छैनन् ।काँग्रेसबाट देउवा प्रधानमन्त्रीको उम्मेदवार रहेका छन् ।