बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने भएको छ ।
क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य संक्रमितका लागि पनि उपचार गर्ने गरी थप १२० शय्या सञ्चालनमा ल्याउन लागेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अस्पतालका ४ वटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शुक्रवारबाट कोभिड वार्ड सञ्चालन गर्ने तयारी गरिएको छ ।
अस्पतालको रेडिएसन, बच्चा, नाक, कान, घाँटी र मूत्रथैली विभागका बिरामीलाई अन्यत्र सारिँदैछ । ती विभागहरूमा बारेर मनिटर लगायतका सामान जडान गर्ने काम अघि बढाइएको गौतमको भनाइ छ ।
ती वार्डहरूमा अक्सिजनको पाइपलाइन रहेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले समस्या नपर्ने अनुमान गरिएको छ । ती शय्यामा ६ वटा भेन्टिलेटर समेत जडान गरिँदैछ ।
गौतमले भने, ‘प्रदेश, संघीय सरकार र दाताहरूसँग भेन्टिलेटर लगायतका उपकरण माग गरेका छौं ।’ ती वार्डलाई सकेसम्म सुविधासम्पन्न बनाइने अस्पतालले जनाएको छ ।
जिल्लामा संक्रमित बढ्दै गएपछि क्यान्सर अस्पतालले कोभिडको उपचार शुरू गर्न लागेको हो । चितवनमा जिल्लाका भन्दा धेरै बिरामी बाहिरबाट आएका छन् ।
४५० शय्याको क्यान्सर अस्पतालमा हाल २२० क्यान्सरका बिरामी उपचाररत रहेका छन् । कोभिड वार्डमा १० जना रहेका छन् ।
अस्पतालमा क्यान्सर रोगको उपचारका लागि देशभरबाट बिरामी आउने गर्दछन् । अन्य समयमा भारतका सीमा क्षेत्रबाट समेत बिरामी आउने गरेका थिए । चीन सरकारको सहयोगमा यो अस्पताल निर्माण भएको हो ।