२३ असार २०८३, मंगलबार

यसरी तुहियो वैकल्पिक सरकार बनाउने योजना

बैशाख ३०, २०७८
यसरी तुहियो वैकल्पिक सरकार बनाउने योजना

संविधानको धारा ७६ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया तुहिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भएपनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग र जसपाकै महन्थ ठाकुर केपी ओलीतिर ढल्किँदा वैकल्पिक सरकार बनाउने योजना तुहिएको हो । 

बिहीबार दिउँसो स्थायी समिति बैठक बसेको नेकपा माओवादी केन्द्रले त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादवसंग भेट गरेको थियो । सो भेट पछि माओवादी केन्द तीन पार्टी मिलेर बनाउने तयारी गरिएको सरकार गठन प्रक्रियाबाट पछि हटेको हो । वर्तमान सरकारलाई असहयोग गरेको नेपाल खनाल पक्षले फेरि प्रधानमन्त्री केपी ओलीसंग नै एकताबद्ध भएर अगाडि बढ्ने नीति लिएपछि आफुहरुले सरकार गठनको प्रस्ताव लैजाने कुरालाई स्थगन गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘नेकपा एमाले भित्रको माधव नेपाल झलनाथ पक्षले सहयोगी भूमिका प्रर्दशन नगर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीसँग  नै एकताबद्ध  भएर अगाडि बढ्ने नीति लिएको देखिएको कारणले हामीले अहिले ७६ २ अन्र्तगतको सरकार बनाउन राष्ट्रपतिकहाँ अनुरोध गर्न जाने प्रक्रियालाई स्थगित गरेका छौ । अथवा नजाने भएका छौ । अहिले ७६÷ २ अन्र्तगतको यो तीन पक्ष मिलेर बन्ने सरकार नबन्ने भयो ।’, श्रेष्ठले भने । 

संयुक्त सरकार गठनका लागि दिइएको अन्तिम समयसिमाको दिन आज नै नेकपा एमालेको स्थायी समिति बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल लगायत ४ नेतामाथि गरेको कारवाही फिर्ता लिएको थियो । लगत्तै प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भएको भेटघाटमा पार्टीभित्रको अन्तरविरोध समाधानका लागि कार्यदल गठन गर्ने र विवादित विषयलाई छलफल गरि समाधान गर्ने सहमति भएपछि नेपाल खनाल पक्षका सांसदले दिने भनिएका राजीनामा विषय टरेको थियो । ओली र नेपाल समुह मिलेर जान तयार भएपछि संयुक्त सरकार गठन विफल भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्