०३ असार २०८३, बुधबार

सकियो राष्ट्रपतिले दिएको समय, बन्न सकेन धारा ७६ (२) को सरकार

बैशाख ३०, २०७८
सकियो राष्ट्रपतिले दिएको समय, बन्न सकेन धारा ७६ (२) को सरकार

बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समय सीमा सकिएको छ ।  संविधानको धारा ७६ को २ अनुसार सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आज राति ९ बजेसम्मको समय दिएर सोमवार आह्वान गरेकी थिइन् । 
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले वैकल्पिक सरकार गठनको लागि प्रयास गरेपनि त्यो सार्थक बन्न नसकेको हो । धारा ७६ को उपधारा २ अनुसारको सरकार बन्न नसकेपछि अब धारा ७६ को उपधारा ३ अन्तरगत प्रतिनिधि सभाको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने बाटो खुलेको छ । 

सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाको महन्थ ठाकुर पक्ष ओलीको विकल्पमा अर्को सरकार बनाउन राजी नभएपछि वैकल्पिक सरकार गठनको सम्भावना टरेको हो । कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जसपाको महन्थ ठाकुर पक्षले सहयोग नगरेका कारण वैकल्पिक सरकार गठन गर्न नसकिएको बताए । 

कांग्रेसले सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको थियो । माओवादी केन्द्रले देउवाको नेतृत्वमा सरकार गठन गर्न समर्थन जनाएको थियो । 
आफ्नो नेतृत्वमा सरकार गठनका  लागि कांग्रेस सभापति देउवाले बिहीवार जसपा अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए । उनीहरुसँगको भेटपछि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । 

एमालेको माधव नेपाल पक्षका सांसदले राजीनामा गरेर बहुमत जुटाउने देउवा र प्रचण्डको योजना रहेपनि नेपाल पक्षले राजीनामा नगरेपछि वैकल्पिक सरकार गठनको संभावना टरेको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बताए । कांग्रेस र माओवादीले संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया शुरु भएमा त्यो बेला पनि प्रयास गर्ने बताएका छन् । 

राति ९ बजेसम्म बहुमतीय सरकार गठन गर्न दलहरुले सहमति जुटाउन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्ने स्रोतले बतायो । 

संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त भएपछि ३० दिनभित्र पुन विश्वासको मत लिनुपर्ने संवैधानिक व्यबस्था छ । विश्वासको मत लिन नसके फेरि धारा ७६ को उपधारा ५ अनुसार प्रतिनिधि सभाको कुनै सदस्यले बहुमत जुटाएर सरकार बनाउने प्रक्रिया शुरु हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्