
कोरोना भाइरस संक्रमणको महामारीका बेला व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लगेको आरोप लागेपछि नेपाल प्रहरीले स्पष्टीकरण दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रकाश अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् ।
‘यस विषम घडीमा पनि निष्ठतापूर्वक अहोरात्र खटिने संगठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाइनु, सामाजिक सञ्जालमा प्रचार र प्रचारित हुनु आफैंमा दुःखद रहेको छ । त्यस्ता भ्रामक सूचनाप्रति विश्वास नगर्न सम्पूर्णलाई आग्रह समेत गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘महामारी विरुद्धको यो अभियानमा नेपाल प्रहरी फेरि पनि स्वास्थ्य क्षेत्रलाई पुर्याउनुपर्ने हर सहयोगका लागि प्रतिबद्ध छ ।’
