
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढेका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चितता तर्फ धकेलिएको प्रतिक्रिया दिएका हुन् ।
शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड- १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरू मुलुकलाई सही बाटोमा हिँडाउन र मुलुकको राजनीति मुलुकका पार्टीहरूको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताए ।
प्रधानमन्त्रीका अभिव्यक्ति संसदलाई भंग गरेर मुलुकलाई अनिश्चितता र अन्योलतर्फ लैजाने खालका भएको दाबी उनले गरे ।
उनले भने, 'राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिँदै जाँदाखेरी अझै नेपालको राजनीतिक दिशाहीनता, अनिश्चितता र अन्योलतर्फ धकेलिएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र माथि ग्रहण लाग्ने र धरापमा पर्ने कार्य हुँदै गएको छ । त्यसैले आउने दिनहरूमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंकाहरू उत्पन्न भएको छ ।'