मृत्युको मुखबाट फर्किएका बाबुराम : ‘मेरो नयाँ जीवनका जन्मदाता डाक्टर र नर्स हुन्’

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

केही समयअगाडि वैदेशिक रोजगारबाट घर फर्किएका थिए, बाबुराम विश्वकर्मा । चैत दशैं आयो । नजिकैको ससुरालीले बोलाए ।

उनी ससुरालीको यात्रा तय गरिरहँदा फेरि यस क्षेत्रमा कोरोनाको दोस्रो लहरको त्रास बढिरहेको थियो ।


Advertisement

चाडको बेलामा ससुरालीले बोलाएपछि नजाने कुरा पनि भएन । श्रीमती सुशीला र बाबुराम ‘माइक्रो’ बस चढेर ससुराली रुद्रपुर (कञ्चन गाउँपालिका) गए ।

एक रात ससुराली बसेर बाबुराम भोलिपल्ट सार्वजनिक गाडीमै वैशाख ८ गते घर फर्किए । रूपन्देहीको सैनामैना बाँसगढीका बाबुरामलाई घर आइपुगेपछि शरीर दुख्न थाल्यो ।

सामान्य केही होला भनेर त्यो रात वास्ता गरेनन् । ९ गते झनै शरीर दुखेर कक्रक्क बनाएसँगै छाती पनि दुख्न थाल्यो ।

नजिकै मेडिकलबाट सिटामोल ल्याएर खाए । तर, औषधिको ‘डोज’ नसकिने बेलासम्म शरीर दुखाइ कम भएजस्तो भयो तर, छातीको दुखाइसँग श्वासप्रश्वासमा समस्या हुन थाल्यो । उनको मनमा कोरोना लागेको शंका लाग्यो । खोकी पनि लाग्न थाल्यो । खोकी झनै बढ्दै गयो । ज्वरो भने, थिएन । घर वरिपरि छिमेकीले तातोपानी खाऊँ ।

बेसारपानीमा जोड गर । झोलिलो खानेकुरा खाउ निको हुन्छ, भनेर सुझाव दिए । तर, उनलाई निकै गाह्रो भइसकेको थियो ।

कोरोनाभाइरसका लक्षण मिल्दा उनमा समस्या आएर सहन नसकेपछि १० गते दिउँसो बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आएर कोभिड जाँच गर्न स्वाब दिए ।

उकुसमुकुस, बेचैनी एकदमै गाह्रो भइसके पनि स्वाब दिएर उनी घर फर्किए । भोलिपल्ट अस्पतालले पठाएको ‘म्यासेज’ मा उनको रिपोर्ट पोजेटिभ आयो । श्वासप्रश्वासमा एकदमै समस्या भयो । एक पाइला चाल्न र सर्न पनि नसकिने अवस्था आयो । बाबुरामले अब मेरो अन्तिम अवस्था आयो भन्ने सोच्न थाले ।

छातीको दुखाई सहन नसकेर उनले मुड्कीले छातीमा बजारे । जीवनसँग पौँठेजोरी खेले । पीडा शब्दमा भन्न नसकिने अवस्थामा थियो । अवस्था एकदमै जटिल भएपछि ११ गते घरमै एम्बुलेन्स बोलाएर सुशीलाले उनलाई बुटवलस्थिल प्रादेशिक अस्पतालमा ल्याइन् । सोधखोज गर्दा संयोगवश कोरोना अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) खाली रहेछ ।

उनलाई ११ गते धागो कारखानाको कोभिड अस्पताल लगियो । बाबुराम त्यहाँ पुग्न आधा होश गुमाइसकेका थिए । अस्पताल पुर्‍याउँदा उनको अक्सिजन ‘लेभल’ ६० मा झरिसकेको थियो । स्थिति एकदमै नाजुक थियो । निमोनियाले छाति धेरै नै बिगारिसकेको रहेछ । फोक्सोको दुवैतर्फ छिट्टै निमोनिया पुगेकाले श्वासप्रश्वासमा समस्या बनाएको रहेछ ।

उनको परिवारमा रुवाबासी चलेको रहेछ । अब बाबुराम घर फर्किन्न भनेर । आईसीयूमा भर्नापछि तीन दिन उनको परिवारसँग सम्पर्क पनि भएन । बाबुरामले अस्पताल बसाइँ तीन दिन भने निकै कष्टकर भएको सुनाए ।

तेस्रो दिनपछि उनले केही ‘रिलिफ’ भएको महशुस गरे । ‘साँच्चै म त मर्छु भन्ने सोचेको थिए । बाँच्ने आशा धेरै कम थियो । त्यस्तो पीडा भएको थियो । भाग्यले मैले आईसीयू पनि पाए,’ बुधवार अस्पतालबाट निको भएर घर फर्किएपछि बाबुरामले लोकान्तरसँगको कुराकानीमा भने, ‘मेरो त यो नयाँ जीवन हो । अहिले मलाई कोरोना लागेको भए सिधै मर्ने थिए । संयोगले १५ दिन अगाडि लागेछ ।’

प्रफुल्ल मुद्रामा बाबुरामले थपे, ‘अहिले त कहाँ आईसीयू बेड पाउनु । बिरामीले अक्सिजन नपाएर छट्पटाउँदै मरिरहेका छन् । म भाग्यमानी रहेछु ।’ म त, मृत्युको मुखमा पुगेर बाँचे । परिवारले माया मारिसकेका थिए । कोरोनालाई कसैले पनि नजरअन्दाज नगरौं,’ विश्वकर्माले भने ।

खाइलाग्दो शरीर । न कुनै दीर्घ रोग । उनलाई यसरी समात्यो कि कोरोनाले तीन दिनमै ढलायो । ३८ वर्षीया बाबुरामलाई एकाएक कोरोनाले थला पार्‍यो कि उनले अस्पताल बेड नपाएको भए बाँच्ने सम्भावना नै नभएको उनी आफै बताउँछन् । २० दिनको अस्पताल बसाइसँग उनले आफूले पुनर्जन्म पाएको बताए ।

‘कोरोना लाग्दाका पाँच दिन मेरो जीवन साँच्चै उतार–चढावपूर्ण रह्यो । कति समय मैले आफैंलाई निमोठ्ने प्रयास पनि गरे,’ उनी भन्छन्, ‘अहिले सबै ठीक भएर घर फर्किए । अस्पतालका नर्स र डाक्टरले मलाई निकै राम्रो ख्याल गरे । उनीहरूले मेरो जीवन बचाइदिएका हुन् । डाक्टर, नर्सदेखि अस्पतालमा काम गर्ने सबै मेरा भगवान हुन् । उनीहरूले मलाई परिवारले भन्दा धेरै माया र गरे ।’

उनले अस्पताल जानुभन्दा अगाडि उनले कोरोना अस्पतालमा गएपछि त बाँचेर आइँदैन भन्ने सुनेका थिए । त्यो सबै गलत रहेको उनी अहिले बताउँछन् । नर्सले अस्पतालमा कोरोना संक्रमितलाई कुुनै घृणाको भाव नराख्ने गरेको उनले पाए ।

उनले आफैँले अस्पतालमा नर्सले बिरामीलाई खाना खुवाइदिएको । बिरामीको दिसापिसाब गराइदिएको । बिरामीको र्‍याल छाड्दा पुछिदिएको ।

शरीर मालिस गरिदिने, कपडा फेराइदिने देखिनुका साथै अनुभव पनि गरे । कोरोना लागेकालाई घर परिवारले समेत नछुने अवस्था नर्सको भगवान नभएर के हुन् त ? उनले प्रश्न गरे । नर्सहरूले मलाई सुत्दा घोप्टो परेर सुत्न भन्नुभएको थियो । मैले त्यसै गरेँ । त्यसरी सुत्दा अक्सिजनको शरीरमा मात्र बढ्दै गयो ।

‘घरमै बसेर आफ्नै डाक्टर बनेको भए मेरो ज्यान जाने रहेछ,’ उनले भने, ‘समयमै अस्पताल पुग्नुपर्ने रहेछ ।’ खानामा बल गरेर खानुपर्ने उनको सुझाव छ ।

‘मैले खानामा जोड गरें । मीठो नभए पनि खाने प्रयास गरेर खाएँ । खाना नखाने हो भने कोरोनाले हामीलाई जित्छ । खाना हामीले खायौँ भने हामीले कोरोना जित्छौं,’ बाबुराम भन्छन् । अहिलेको कोरोना गत वर्षको भन्दा खतरा रहेछ । कोरोना तत्काल अन्त्य होला जस्तो छैन । त्यसैले योसँगै जोगिन स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने देखिएको उनको बुझाइ छ ।

अहिले कोरोना समुदायमा व्यापक रूपमा फैलिइसकेको छ । यसमा जोगिन निषेधाज्ञामा घरमै बसेर यसलाई न्यूनीकरण गर्नतर्फ सबै लाग्नुपर्ने बाबुरामले सुझाव दिन्छन् । ‘आफैँ पनि बाँचौँ अरूलाई बचाऊँ’ बाबुरामले भने ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्