
काठमाडौं १७ जेठ– सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरुले सहमतीय सरकार गठनको सम्भावना नदेखिएको बताएका छन् ।
शीतल निवासमा बुधवार दिउँसो भएको बैठकमा नेताहरुले बहुमतीय प्रक्रियाबाट पनि सहमतीय सरकार गठन गर्न सकिने बताएका हुन् । बैठकमा सहभागि एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका कामको गुणगान सुनाएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाहिँ स्पष्ट भाषामा राजनीतिक सहमतिको सरकार गठन गर्न नसकिएको बताएका थिए । ‘सहमतिय सरकार गठनको सम्भावना देखिएन, अब बहुमतीय भित्र सहमतिको प्रयास गर्नुपर्छ’ देउवाले भने ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले चितवनमा मतगणना रोकिएको प्रसंग उठाउँदै सरकारले चुनावमा धाँदली गरेको बताएका थिए । ‘सत्ता पक्षले हार्ने देखेपछि चितवनमा मतगणना रोकेको छ’ ओलीले भनेका थिए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव सार्ने सरकारको निर्णयको विरोध जनाएका थिए । बैठकमा राष्ट्रपति भण्डारीले दलहरुलाई झगडा नगरी निकाश दिन आग्रह गरेकी थिइन् ।
‘कुनै नयाँ कुरा थिएन, ठूला दलका नेताले पुरानै कुरा दोहोराए, राष्ट्रपतिले सहमति गरेर मुलुकलाई निकाश दिनुस भन्नुभयो’ बैठकमा सहभागि एक नेताले लोकान्तरलाई बताए ।
भोलिबाट बहुमतीय प्रक्रिया शुरुराष्ट्रिय समाचार समितिका अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गरेकी छन् । सहमतिको सरकार गठनका लागि आज अन्तिम दिन भएकाले यसलाई सदुपयोग गर्न आग्रह गरेकी उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
‘मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्नुस्, राष्ट्रिय सहमतिको सरकार गठनको आजको दिनलाई सदुपयोग गर्नुस, राष्ट्रिय सहमतिका सरकार गठन नभए भोलिबाट बहुमतीय प्रक्रिया सुरु हुन्छ’–राष्ट्रपति भण्डारीले भन्नुभएको स्वकीय सचिव अधिकारीले जानकारी दिए ।
दलका नेताले राष्ट्रिय सहमतिको सरकारका लागि आफूहरुले रातिसम्म सक्दो प्रयास गर्ने बताएका थिए ।
बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति देउवा, नेकपा (एमाले)का अध्यक्ष ओली, माओवादी नेता टोपबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागि थिए ।
बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतो, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति, सङ्घीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी सहभागि थिए ।
प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गरेकी थिइन । सहमतिको सरकारको पहल गर्ने समय आज सकिँदैछ ।
तोकिएको म्यादभित्र सहमतीय सरकार बन्न नसकेमा संविधानको धारा २९८ को उपधारा (३) अनुसार व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सदस्य सङ्ख्याकोे बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।