
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने प्रयास केही नेताको अवसरवादी सोचका कारण सफल हुन नसकेको बताएका छन् ।
तीनवर्ष अगाडि जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा गठन भएको थियो । सर्वोच्च अदालतको फैसलापछि गत फागुन २३ गते नेकपा एकता भंग भएको थियो ।
मदन आश्रित स्मृति दिवसको अवसर पारेर सोमवार जारी गरिएको विज्ञप्तिमा ओलीले सामाजिक आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकको रुपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने लक्ष केही नेताको अवसरवादी चरित्रका कारण सफल हुन नसकेको बताएका हुन् । यसअघि एमाले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अवसरवादी सोचका कारण फागुन २३ अगावै पार्टी एकता भंग भइसकेको विश्लेषण गरेका थिए ।
‘तीन वर्ष अगाडि आजकै दिन हामीले नेकपा (एमाले) र नेकपा माआोवादी केन्द्रबीच पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता सामाजिक आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकको रुपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने हाम्रो इमान्दार प्रयास थियो’ ओलीले विज्ञप्तिमा भनेका छन, ‘तर कतिपय नेताका विभाजनकारी अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन । आज नेकपा एमाले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ ।’
अध्यक्ष ओलीले २८ औं मदन आश्रित स्मृति दिवसको अवसरमा जनताको बहुदलीय जनवादको निरन्तर रक्षा र विकास गर्दै जाने संकल्प व्यक्त गरेका छन् ।


