प्यालेस्टाइनमाथि इजरायलको आक्रमणका विरुद्ध इस्लामिक देशहरूको संगठन ओआईसीको बैठक आइतवार बोलाइएकोमा इजरायलका विषयमा सहमति बन्न सकेन ।
त्यस आकस्मिक बैठकमा इजरायलको आलोचना गरेर गाजामा आक्रमण तत्काल रोक्न माग गरिएको छ । तर इजरायलका विषयमा इस्लामिक देशहरूको प्रतिक्रिया फरक फरक रह्यो । उनीहरूबीचको मतभेद बैठकमा स्पष्ट देखियो ।
पोहोर साल संयुक्त अरब अमिरातले इजरायलसँगको सम्बन्ध सामान्य बनाएको थियो । त्यसपछि बहराइन, मोरक्को र सुडानले पनि यूएईको अनुसरण गरेका थिए ।
इजिप्ट र जोर्डनले पनि इजरायलसँग शान्ति सम्झौता गरेका छन् ।
इस्लामिक सहयोग संगठनको बैठकमा प्यालेस्टाइनहरूमाथि आक्रमण गर्ने इजरायलसँग मित्रता गर्ने देशहरूलाई पनि दोषी संज्ञा दिइयो ।
इजरायलविरुद्ध पाकिस्तान र टर्कीको दृष्टिकोण सबभन्दा बढी आक्रामक छ । मलेसिया, इन्डोनेसिया र ब्रुनाईले आइतवार भिन्नाभिन्नै बयान जारी गरी संयुक्त राष्ट्रसंघ महासभाको आकस्मिक बैठक बोलाउन माग गरे ।
ओआईसी बैठकमा इरान र टर्कीले इजरायलसँग सम्बन्ध राख्ने इस्लामिक देशहरूको आलोचना गरे । विशेषगरी यूएईलाई उनीहरूले तारो बनाएको देखियो । यूएई तथा अन्य केही देशले इजरायलको कठोर आलोचनामा रुचि देखाएनन् ।