०३ असार २०८३, बुधबार

प्रदेश सरकारले निर्माण गरेका १२ पुलको मुख्यमन्त्रीले गरे एकसाथ उद्घाटन

जेठ ३, २०७८
प्रदेश सरकारले निर्माण गरेका १२ पुलको मुख्यमन्त्रीले गरे एकसाथ उद्घाटन
प्रतिकात्मक तस्वीर

बागमती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको सोमवार उद्घाटन सम्पन्न गरिएको छ । 

गत आर्थिक वर्षबाट निर्माण शुरू भई वैशाख मसान्तसम्म निर्माण सम्पन्न भएका काठमाडौंको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोवीखोला पुल, भक्तपुरको मजुवा खोलापुल, महादेव खोलामा निर्माण भएका २ पुल, चितवनको दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, धादिङको पलंखु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल, सिन्धुपाल्चोकको मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुलको सोमवार मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

भिडियो कन्फरेन्समार्फत संयुक्त उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निरन्तर काममा रहेको बताए । उनले यसअघि ३२ पुलको उद्घाटन भइसकेको जनाउँदै केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सम्पन्न हुने जानकारी दिए ।

पौडेलले विगतमा विकट भनिएका ठाउँमा बाटो र पुल बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिए ।

‘हामी विकास निर्माणका काममा तल्लीन छौं तर अहिले महामारीका कारण हामीले हाम्रो सारा शक्ति कोभिडको महामारीलाई नियन्त्रण गर्नेतर्फ लगाएका छौं,’ पौडेलले भने । महामारी नियन्त्रणमा आएपछि फेरि विकास निर्माणको कामलाई तीव्रता दिने उनको भनाइ थियो । 

उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्दै भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताए । ‘राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र विकासप्रेमी नेता डोरमणि पौडेलको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौं,’ उनले भने ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मुकुन्द पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बराल लगायतको सहभागिता थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्