
अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ संक्रमणका बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिन्डर नेपाल ल्याइरहेका छन् ।
निगमको वाइडबडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिन्डर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।
निगमको जहाजले बेइजिङबाट आइतवार र सोमवार ९७५ थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार २ दिनमा क्रमशः ४०० र ५७५ अक्सिजन सिलिन्डर र १५७ अक्सिजन कन्सर्नटे«टर ल्याइएको छ । चीनबाट थप २ उडानमार्फत अक्सिजन सिलिन्डर ल्याउने तथा अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको छ ।
निगमले यसअघि वैशाख २८ गते चीनबाटै ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो ।
यीसबै सामग्री चीन सरकारले अनुदान स्वरूप नेपाललाई दिएको हो । चीन सरकारको २ हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आईसीसीले सहयोगमा १०० थान, चीनमा रहेका १ नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होङसी ग्रूपले २७ थान र करुणा फाउन्डेसनको सहयोगमा ११० थान गरी कूल अतिरिक्त ३१३ वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने निगमले जनाएको छ ।
गत शनिवार पनि निगमले गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमनको सहकार्यमा ओमनबाट सहयोग स्वरूप प्राप्त भएको ५६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको थियो ।