०२ असार २०८३, मंगलबार

कर संकलनमा प्रभावकारी बन्दै डिजिटल प्रणाली, वैशाखमा सरकारको आम्दानी ७७ अर्ब १२ करोड

जेठ ४, २०७८
कर संकलनमा प्रभावकारी बन्दै डिजिटल प्रणाली, वैशाखमा सरकारको आम्दानी ७७ अर्ब १२ करोड
फाइल तस्वीर

पछिल्लो समय कर संकलनमा सरकारले अवलम्बन गरेको डिजिटल प्रणाली प्रभावकारी बन्न थालेको छ ।

कर भुक्तानी प्रणाली नगदरहित बनाउन सरकारले डिजिटल माध्यमलाई प्राथमिकता दिएसँगै यसको प्रभावकारिता बढ्दै गएको हो । कोभिड महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाका बीचमा पनि उत्साहजनक रूपमै राजस्व संकलन भएको सरकारी तथ्यांकले देखाउँछ ।

कोभिड महामारी बढेपछि वैशाख दोस्रो सातादेखि काठमाडौंसहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको थियो । यसबीचमा कर तिर्न करदातालाई आन्तरिक राजस्व विभागसहित मातहतका कार्यालयले ताकेता समेत गरेका थिए । तर निजीक्षेत्रले कर तिर्ने समय थप्न आह्वान गरे पनि सरकारले सुनुवाइ गरेन ।

विभागका अधिकारीले सम्पूर्ण कर डिजिटल माध्यमबाट तिर्न ताकेता गरे । त्यसपछि कारबाहीमा पर्ने डरले पनि अधिकांशले समयमै कर तिरे । सरकारको ताकेतापछि करदाताले समयमै तिरेकाले वैशाखमा मात्रै ७७ अर्ब १२ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

वैशाखमा करतर्फ सरकारको आम्दानी ७२ अर्ब ९१ करोड २१ लाख रुपैयाँ भएको छ । यसमध्ये आन्तरिक राजस्व विभागले ३२ अर्ब ४० करोड राजस्व संकलन गरेको विभागको प्रारम्भिक तथ्यांकले देखाउँछ । यो महीना विभागले ३३ अर्ब ९९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।

विभागका अनुसार निषेधाज्ञाको बीचमा करदाताको सजिलोका लागि कनेक्ट आईपीस, ईसेवा जस्ता डिजिटल माध्यमबाट कर भुक्तानीको व्यवस्था मिलाइएको थियो । फलस्वरूप वैशाखमा राजस्व संकलन लक्ष्यको नजिक पुगेको राजस्व संकलन शाखाका उपमहानिर्देशक मुक्ति पाण्डेले बताए । उनका अनुसार विभागले चालू आवको १० महीनामा ३ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ३ खर्ब ४२ अर्ब संकलन भएको छ ।

सरकारी आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाखसम्ममा वार्षिक लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले निषेधाज्ञाको बीचमा सरकारको आम्दानी सन्तोषजनक नै रहेको बताए । कर भुक्तानीमा डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयनले यसमा टेवा पुगेको उनको भनाइ छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत चैतसम्ममा कनेक्ट आईपीएस, वालेटहरूमार्फत भुक्तानी गर्नेहरू बढेका छन् । चालू आवको ९ महीनामा कनेक्ट आईपीएसबाट २ खर्ब ११ अर्ब र वालेटमार्फत ११ अर्ब रुपैयाँ भुक्तानी भएको छ । यसले पनि भुक्तानी प्रणालीलाई डिजिटलाइज गर्ने सरकारको नीति सफलता उन्मुख रहेको देखाउँछ । आर्थिक अभियान दैनिकमा विजय दमासेले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्