०८ असार २०८३, सोमबार

अक्सिजनको क्षमता बढाउँदै चितवनका अस्पताल

जेठ ४, २०७८
अक्सिजनको क्षमता बढाउँदै चितवनका अस्पताल
प्रतिकात्मक तस्वीर

अक्सिजन अभाव हुन थालेपछि चितवन जिल्लाका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन् ।

बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पुर्‍याउन कठिन भएको छ ।

जिल्लाका २ मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन् । 

जिल्लामा कोरोनाको उपचार गराइरहेका २ सरकारी र २ मेडिकल कलेजमा आफ्नै प्लान्ट भएपनि बिरामीको संख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता रहेको छ । पुरानो मेडिकल कलेजले गैंडाकोटमा रहेको आफ्नो प्लान्टलाई विस्तार गर्दैछ । अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधानले २४ घण्टामा ४०० सिलिन्डर उत्पादन हुँदै आएकामा २०० सिलिन्डरको क्षमता थप गर्न लागिएको बताए ।

उद्योगमा यसअघि नै प्लान्ट भएको भन्दै उनले ट्रान्सफरमर र स्टेपलाइजर जडान गरी यसै हप्ता थप उत्पादन गर्ने तयारी गरिएको उनले जानकारी दिए । मेडिकल कलेजमा हाल दैनिक ३०० सिलिन्डर आवश्यक पर्ने गर्दछ । 

चितवन मेडिकल कलेजले १ दिनमा ६००  सिलिण्डर उत्पादन हुने नयाँ प्लान्ट ल्याउँदैछ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले एलसी खोलेर प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘१ हप्ताभित्र सामान जडान हुने अपेक्षा लिएका छौं ।’

हाल अस्पतालको प्लान्टले २०० सिलिन्डर अक्सिजन हाराहारी उत्पादन गर्दै आएको । बिरामीको चाप बढेपछि हाल दैनिक ४०० सिलिन्डर अक्सिजन बाहिरबाट ल्याउनुपरेको छ । 

भरतपुर अस्पतालले नयाँ प्लान्ट थप गर्ने तयारी गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयबाट १२ करोड रुपैयाँ बजेट आउने भएकाले छिट्टै प्रक्रिया अघि बढाइँदैछ ।

दैनिक थप २४० सिलिण्डर उत्पादन हुने गरी प्लान्ट जडान गर्न लागिएको उनको भनाइ छ । भरतपुर अस्पतालमा हाल रहेको प्लान्टले दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन गर्छ भने खपत २०० भन्दा बढी रहेको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दैनिक १ हजार २०० सिलिन्डर जिल्लाका अस्पतालहरूमा आवश्यक पर्दछ । चितवनका ४ अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिन्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिन्डर अक्सिजन जिल्लामा अपुग भएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्