
बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको संक्रमण केही दिनयता घट्दै गए पनि अस्पतालमा भर्ना भएका संक्रमितको मृत्युदर भने घट्न सकेको छैन ।
सोमवार शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा कूल ३६३ जनाको पीसीआर परीक्षण गर्दा १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार १४९ संक्रमितमध्ये बाँकेका ४० पुरुष र ३५ महिला गरी ७५ जनामा संक्रमण देखिएको छ ।
यसअघि प्रयोगशाला रिपोर्टमा कोरोना संक्रमण दर दैनिक रूपमा ७० देखि ८५ प्रतिशतसम्म पुग्ने गरेको थियो । सोमवार संक्रमित हुनेभन्दा कोरोना जित्नेको संख्या धेरै भएको छ । ७५ जना संक्रमित थपिँदा सोमवार १७५ पुरुष र १९० महिला गरी ३६५ जनाले कोरोना निको भएको स्रोतव्यक्ति वलीले बताए ।
संक्रमित हुनेको संख्या घटे पनि मृत्युदर भने घट्न सकेको छैन । कोरोना संक्रमणबाट बाँकेमा सोमवार मात्र १३ जनाको मृत्यु भएको छ ।
बाहिरी जिल्लाका १० र बाँकेका ३ जनाको मृत्यु भएको हो । बाँकेमा कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
गत वैशाख ९ गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बाँकेमा कोरोना संक्रमणका कारण २२५ जनाको अकालमै ज्यान गएको स्रोतव्यक्ति वलीले जानकारी दिए । उनका अनुसार बितेको वैशाख महिनामा मात्रै १७२ जनाको मृत्यु भएको छ ।
यो अवधिमा १० हजार ११४ जना संक्रमित भएका छन् भने ६ हजार ४७० जना निको भएका छन् । बाँकेमा शुरूदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना संक्रमित भएकामा ११ हजार १७२ जना निको भएर घर फर्किसकेका छन् ।