भारतमा कोरोनाभाइरसको कहर चलिरहँदा झारफुक, तन्त्रमन्त्र र घरेलु उपचारका नाममा ठगहरूले पनि धन्धा चलाइरहेका छन् ।
राजस्थानको सीकर जिल्लामा ठग बाबाहरूले कोरोनाको उपचार गरिरहेको भारतीय पत्रिका दैनिक भास्करका विक्रम सिंह सोलंकीले खुलासा गरेका छन् ।
सीकरमा एक बाबा भेटिए । उनको नाम सचिन हो । उनको घाँटीमा अनेकथरी कण्ठी र माला थिए । उनी चुरोट पिइरहेका थिए ।
उनले पत्रकार टोलीलाई के समस्या छ भनेर सोधे । पत्रकारले आमा बिरामी हुनुहुन्छ भने अनि समस्या समाधानको उपाय सोधे ।
बाबाले सवा बोतल देशी दारुमा दूध, गहुँत र सादा पानी राख्न अनि गंगाजल मिसाउन र त्यसलाई माटोको कलशमा राख्न सुझाव दिए ।
त्यसपछि कलशमा प्वाल पारेर घरभरि चुहाउँदै हिँड्न अनि बाँकी रहेको मिश्रणलाई घरको मूल ढोकामा राख्न भने । त्यसो गर्दा कोरोना पनि नलाग्ने अनि २० वर्षसम्म घरमा दुष्टात्मा नआउने र तन्त्रमन्त्रको असर पनि नहुने उनले बताए ।
यसरी घरमा पानी छर्केको २१ दिनपछि आफूलाई बोलाउन र पूजा हवन गराउन पनि उनले निर्देशन दिए ।
दक्षिणाको कुरा झिक्दा २५ हजार भारु लाग्छ भने । रोग, गृह दोष र घरेलु झैझगडा सबै अन्त्य हुने उनले बताए ।
पत्रकारको टोली बाबासँग कुरा गरेर आश्रम बाहिर आयो । अलिकति पर पुग्दा बाबाको चेलाको फोन आयो । उसले रिसाउँदै भन्यो– 'बाबाले उपचार विधि बताउनुभयो तर तिमी दक्षिणा नदिइकनै हिँड्यौ ।'
पत्रकारले मन्दिरको दानपात्रमा पैसा राखेको बताए । तर चेलाले त्यो पैसा त मन्दिरमा जान्छ, बाबालाई छुट्टै पैसा चाहिन्छ भन्यो । पछि पूजापाठ गराउने भनेपछि बल्ल ऊ मान्यो ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला