चक्रवाती तुफान ताउतेका कारण अरब सागरमा तेल बोक्ने एक जहाज डुबेपछि भारतीय जलसेना उद्धारमा खटिएको छ ।
निकै कोशिशपछि १८४ जनालाई बचाउन सेना सफल भएको छ । सँगै १४ जनाको शव बरामद गरिएको छ ।
पी३०५ बार्ज (मालवाहक जहाज) बाट हाम्फालेर समुद्रमा हराएर अनि सेनाबाट उद्धार भएकाहरूले घटनाको बेलीविस्तार लगाएका छन् ।
अमित कुमार कुशवाहा पनि त्यस बार्जमा थिए । उनका अनुसार, तुफान आएर बार्ज समुद्रमा डुब्न थालेपछि जहाजबाट हाम्फाल्नुको विकल्प रहेन । उनी समुद्रमा लाइफगार्डको सहारामा ११ घन्टासम्म बसिरहे । पछि सेनाले आएर उनको उद्धार गरेको थियो ।
बुधवार जलसेनाले बार्जबाट हाम्फालेका अन्य कर्मचारीलाई उद्धार गर्दा उनीहरू भावुक भए । समुद्रमा लामो समय बस्नुपर्दा आफूहरूलाई कुनै पनि बेलामा मरिन्छ भनेर पीर लागेको तर सेनाले आएर बचाएपछि बेस्सरी खुशी भएको उनीहरूले बताए ।
ताउते तुफानका कारण भारतमा ६० जनाको मृत्यु भइसकेको छ ।