२४ असार २०८३, बुधबार

प्रधानमन्त्री ओलीलाई कारवाही गर्न निर्वाचन आयोगसमक्ष प्रचण्डको सचिवालयको माग

प्रधानमन्त्री ओलीलाई कारवाही गर्न निर्वाचन आयोगसमक्ष प्रचण्डको सचिवालयको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमूक उम्मेदवारलाई मतदान गर्न अपिल गरेकाले कारवाही गर्न माग गरेको छ ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले प्रेस वक्तव्य जारी गर्दै जेठ ३ गतेदेखि मौन अवधि शुरू भइसकेको अवस्थामा बुधवार मतदानका लागि अपिल गर्नु आचारसंहिता विपरीत भएको जनाएको छ ।

‘जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचारसंहिता विपरित भएको स्वयं निर्वाचन आयोगले सचेत गराइसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले बुधवार अपिल जारी गर्दै नेकपा एमाले उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आग्रह गरेका छन् ।

महराद्वारा विज्ञप्तिमा अगाडि उल्लेख छ, ‘केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । यस विपरीत सरकार प्रमुखले नै अमूक उम्मेदवारलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ ।’


 

salt training

कमेन्ट गर्नुहोस्