१० साउन २०८३, आइतबार

दुग्ध किसानको पीडाः लागत मूल्य समेत नपाएर घाटा खाएर दुध बिक्री

कात्तिक २०, २०७४
दुग्ध किसानको पीडाः लागत मूल्य समेत नपाएर घाटा खाएर दुध बिक्री

चितवन, १८ जेठ– लागत मूल्य पाउन नसकेपछि यहाँका दुग्ध उत्पादक किसान निराश बनेका छन् ।

लागत अनुसारको बजार मूल्य नपाएपछि यहाँका कतिपय किसान विस्थापित भएका छन् भने केहीले लगानी घटाउँदै गएका छन् । पशुलाई खुवाउने दाना, चोकर, ढुटो, पराल, घाँसको मूल्य बढ्दै जाँदा दूधको मूल्यमा लागतअनुसार वृद्धि हुन सकेको छैन । सरकारी अनुदान नाम मात्रको रहेको छ ।

पश्चिम चितवनको चनौलीका कृषक कुलानन्द अधिकारीले ४५ वटा गाई पालेका छन् । दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आएकाका अधिकारी खर्च धान्न मुस्किल भएको बताउँछन् । कामदार पाउन नसकेपछि घरका सबै सदस्य मिलेर गाईको हेरचाह गर्दै आएका छन् ।

यसैगरी जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको तीन कार्यकाल अध्यक्ष रहिसक्नुभएका शङ्करराज राजभण्डारीले सुरुवातमा ५२ वटा गाई पालेका थिए । उनले दैनिक ३०० लिटरसम्म दूध बिक्री गर्थे । अहिले उनले १६ वटा गाई मात्रै पालेका छन् । दैनिक ७५ देखि ८० लिटरसम्म दूध बिक्री गर्ने गरेको उनी बताउँछन् ।

‘गाईभैँसी पाल्नेहरु विस्थापित हुँदै गएका छन्,’ उनी भन्छन्। ‘खर्च धान्नै मुस्किल परेकाले धेरै किसानले पेसा छाडेका छन् ।’


दुग्ध उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष हरिहर सुवेदी पहिलेको तुलनामा दैनिक दूध उत्पादनमा २५ देखि ३० हजार लिटर घटेको बताउँछन् । लागत मूल्य बढ्दै जाँदा दूधको मूल्य नबढेपछि किसानमा उत्साह नरहेको उनले बताए ।

विसं २०७१ पुसमा दूधको मूल्य वृद्धि गरिएको थियो । कृषकले प्रतिलिटर दूधको मूल्य रु ४० पाउने गर्छन् । तर बजारमा रु ६० मा बिक्री भइरहेको छ । त्यही दूधबाट घ्यू उत्पादन गरी व्यवसायीले थप नाफा कमाउने गरेका छन् । कृषकले लागत मूल्य पाउनका लागि प्रतिलिटर रु ५० मा दूध बेच्नुपर्ने सुवेदीको भनाइ छ ।

चवालीस किलोको बोराको चोक्करको मूल्य रु एक हजार १०० पर्छ भने दानाको प्रतिकिलो रु २८ देखि रु ४० तथा ढुटोको मूल्य रु २८ देखि रु ३० सम्म पर्छ । कामदार पाउन मुस्किल हुन्छ । परालको मूल्य र घाँस उत्पादनको लागत निकै बढेको किसान बताउँछन् ।

जिल्लामा १४० वटा दुग्ध उत्पादक सहकारी संस्थाले दूध सङ्कलन गरेर स्थानीय बजार र बाहिरी जिल्लामा पठाउने गर्छन् । कतिपय कृषकले आफँैले सोझै बजारमा पठाउने गरेका छन् । सङ्घका उपाध्यक्ष बालकृष्ण उप्रेतीका अनुसार जिल्लामा दैनिक करिब तीन लाख ६५ हजार लिटर दूध उत्पादन हुन्छ । काठमाडौँ, पोखरा, वीरगन्जलगायत सहरमा दैनिक एक लाख ५० हजार लिटर दूध बिक्री हुन्छ । दैनिक दुई लाख १० हजार लिटर दूध, दुग्ध किसान र स्थानीय बजारमा खपत हुने गरेको उप्रेतीले बताए ।

जिल्लामा करिब ४८ हजार कृषक दुग्ध उत्पानमा आबद्ध भएका अनुमान छ । करिब ३६० जनाले व्यावसायिक रुपमा गाईभैँसी पालेका उप्रेती बताउँछन् ।

पछिल्लो समय सरकारले दुग्ध उत्पादक कृषकलाई गोठ सुधारका लागि सहयोग गर्दै आएको छ भने घाँसको बीउ र डाले घाँसको बिरुवा पनि वितरण गर्दै आएको छ । प्रतिलिटर रु एक अनुदान समेत यस वर्षबाट सुरु गरेको छ । यद्यपि सो रकम पर्याप्त हुन नसकेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढार्इं बताउँछन् ।

‘दूध क्षेत्रको प्रवद्र्धन आर्थिक र सामाजिक रुपान्तरण’ नाराका साथ आज विभिन्न कार्यक्रमसहित दूध दिवस मनाइँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्