
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा विश्वासको मत नलिने जनाउँदै संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि मार्गप्रशस्त गर्ने बताएलगत्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।
प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको हैसियतमा धारा ७६(३) अनुसार बनेका प्रधानमन्त्री ओलीले पदमा रहिरहन ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर ओलीले अहिल्यै विश्वासको मत नलिनेबारे राष्ट्रपतिलाई जानकारी गराउँदै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेका थिए ।
यसरी विकसित भइरहेको घटनाक्रमबारे छलफल र आगामी रणनीति तय गर्न जसपा अध्यक्ष ठाकुरसहित महतो बालुवाटार पुगेका स्रोतले जनाएको छ ।
यसअघि मन्त्रिपरिषद् बैठकले जसपाको माग अनुसार आमाको नागरिकताबाट सन्तानलाई जन्मसिद्ध नागरिकता दिने निर्णय समेत गरेको छ ।
मन्त्रिपरिषद् बैठकबाट जेठ ९ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस समेत गरिएको छ ।