
जसपाका अध्यक्ष महन्थ ठाकुर अहिले राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा जसपा अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो समेत शीतल निवास पुगेका हुन्। नयाँ सरकार बनाउन नेकपा एमाले र जसपा सांसदहरूको सहमति रहेको हस्ताक्षर सहितको लिखित पत्र लिएर उनीहरु शीतल निवास पुगेको जसपा स्रोतले बताएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न आह्वान गरेकी थिइन् । प्रधानमन्त्री केपी ओलीको आग्रह अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा शुक्रबार साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न राष्ट्रपतिले आह्वान गरेको उल्लेख गरिएको छ । त्यसअघि नै सरकार बनाउने गरी फेरि एमाले र जसपाको दौडधुप देखिएको हो ।