
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही संसदहरूले विपक्षी गठबन्धनका प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर गरेको पाइएको भन्दै त्यसबारे आफूहरुले छानबिन गरिएको बताएका छन् । ओलीले बिहीबार साँझ राष्ट्रपतिलाई पठाएको पत्रमा सांसदहरु दलप्रति प्रतिबद्ध हुने भएकाले कोहीपनि पार्टी निर्णय बाहिर जान नसक्ने जिकिर गरिएको छ ।
‘पार्टी विधानले अरु दलको उम्मेदवारलाई समर्थन गर्ने अधिकार सांसदलाई दिएको छैन। तर केही सांसदले हस्ताक्षर गरेको सुनिएको छ। यसबारे हामीले छानबिन गरिरहेका छौं । छानबिन नहुँदासम्म कुनै प्रक्रिया अघि नबढाइयोस्’, ओलीले राष्ट्रपतिलाई पठाएको लिखित पत्रको आशय छ ।
उनले पार्टी हितविपरीत कोही सांसद गएको पाइए उनीहरु कारबाहीको भागिदार हुने भएकाले त्यस्तो हस्ताक्षरलाई राष्ट्रपतिले मान्यता दिन नमिल्ने समेत जिकिर गरेका छन् ।
प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले राष्ट्रपतिलाई एमाले संसदीय दलको नेताको हैसियतमा ओलीले पठाएको पत्रमा देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुको हस्ताक्षर कुनै पनि हिसावले सही नभएको उल्लेख गरिएको बताए ।
संविधानको धारा ७६(५) बमोजिम राष्ट्रपतिले आह्वान गरेको समयसीमामा ओलीले पनि आफ्नो पक्षमा १५३ सांसद रहेको राष्ट्रपतिसमक्ष दावी पेश गरेका छन् । यस्तै विपक्षी गठबन्धनबाट देउवाले एमालेका माधव कुमार नेपाल पक्ष समेतको सहयोगमा १४९ सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेको सन्दर्भमा ओलीले राष्ट्रपतिलाई पत्र पठाएका हुन् ।