
लमजुङमा पाँचौ दिनमा भूकम्पको धक्का रोकिएपछि मस्र्याङ्दी गाउँपालिकाका वासिन्दा सुरक्षित भएको महशुस गरेका छन् । जिल्लाको भुलभुले केन्द्रविन्दु बनाएर गत बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता पटकपटक गरी शनिबार साँझ ६ बजेर १८ मिनेटसम्म नै धक्का गएपनि त्यसयता कुनै धक्का महशुस गरिएको छैन ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले विस्तारै भूकम्पको परकम्पन्न हराउँदै जाने जनाएको छ । जिल्लामा बुधबारदेखि शनिबारसम्मको अवधिमा १०० वटा सानाठूला भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । त्यस्तै, चार रेक्टरभन्दा माथिका छ वटा र सोभन्दा कमका ९४ वटा भूकम्प गएको उक्त केन्द्रले जनाएको छ ।
बुधबार बिहान गएको भूकम्पले मानवीयदेखि भौतिक संचरनामा क्षति पुगेको छ ।
जिल्लामा सो भूकम्प जाँदा २०८ घर पूर्ण क्षति र २०० घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।