२३ जेठ २०८३, शनिबार

निर्घात कुटपिट गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ

जेठ १०, २०७८
निर्घात कुटपिट गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ
प्रतिकात्मक तस्वीर

सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले स्थानीय ४ युवकलाई सोमवार पक्राउ गरेको छ । 

धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा सोमवार मृत्यु भएको अस्पतालले जनाएको छ । गाउँपालिकास्थित युनिक अस्पतालले रेफर गरेपछि रामदललाई उपचारका लागि बिहीवार विराटनगर लगिएको थियो ।

मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितले बुधवार राति धारिलो हतियारले निर्घात कुटपिट गरेको भन्दै रामदलका दाजु सरोवर यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पक्राउ परेका आरोपितले गाउँकै पोखरीमा माछापालन गरेर बसेका रामदलसँग गत बुधवार दिउँसो झगडा गरेको र सोही निहुँमा राति कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको सरोवरले बताए । पक्राउ परेका युवा यसअघि पनि कुटपिट र लागूऔषध ओसारपसारको आरोपमा पटक–पटक पक्राउ परेको स्थानीयले जानकारी दिएका छन् ।

चिकित्सकले सोमवार मृत घोषणा गरेपछि शव परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्