निषेधाज्ञाका कारण रासायनिक मल वितरण हुन नसक्दा पश्चिम नवलपरासीका किसानहरू चिन्तित बनेका छन् ।
विगतका वर्षहरूमा किसानहरूले मलको अभाव झैल्दै आएका थिए । तर अहिले जिल्लामा मल उपलब्ध भएपनि निषेधाज्ञाका कारण वितरण हुन सकेको छैन । मल वितरण हुन नसक्दा धानको बिउ राखेका किसानहरू मर्कामा परेका छन् । अहिले जिल्लाका सबैजसो किसानले धानको बिउ राखिसकेका छन् ।
समयमा मल नपाउँदा उत्पादनमा समेत कमी आउने भन्दै किसानहरू चिन्तित छन् । ‘पटक–पटक मलका लागि पालिका र सहकारी संस्थामा गयौं । मल नै आएको छैन भनेर फर्काउने गरेका छन्,’ सुस्ता गाउँपालिका–५ का किसान वसन्त कुर्मीले भने । विगतमा मल अभाव हुँदा किसानहरूले भारतबाट ल्याएर खेतीमा राख्ने गरेका थिए । अहिले सीमा नाका बन्द भएकाले विकल्प पनि नरहेको प्रतापपुर गाउँपालिकाका किसान नारायण भरले बताए ।
५/७ दिनभित्र मल नपाए बिउ हुर्किन नपाउने रामग्राम नगरपालिकाका किसान रामजी गुप्ताले बताए ।
जिल्लाको २९ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ, जसमध्ये ८० देखि ९० प्रतिशत किसानले धानको बिउ राखिसकेको कृषि ज्ञान केन्द्रकी कृषि प्रसारक अधिकृत एवं सूचना अधिकारी मनिषा पौडेलले जानकारी दिइन् । समयमा मल नपाएर स्वतः उत्पादनमा कमी आउने उनको भनाइ छ । किसानहरूलाई अहिले डिएपी मलको आवश्यक छ ।
पर्याप्त नभएपनि तत्कालका लागि किसानहरूलाई आवश्यक पर्ने मल रहेको र निषेधाज्ञाले वितरण गर्न नसकिएको कृषि सामाग्री कम्पनी लि. परासी शाखाका प्रमुख खडानन्द बञ्जाडेले बताए ।
जिल्ला प्रशासनले जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा लगाएको छ । निषेधाज्ञामा सम्पूर्ण पसल, व्यवसाय र बैंक तथा वित्तिय संस्थाहरू पूर्ण रुपमा बन्द गरिएको छ ।
कम्पनीसँग अहिले ६ सय टन डिएपी र साढे ५ सय टन युरिया मल छ । कम्पनीले जिल्लाका ५५ वटा सहकारीमार्फत मल वितरण गर्दै आएको छ । ‘बैंकहरू बन्द छन् । सहकारीहरूले रकम जम्मा गर्न पनि समस्या छ । अर्कातर्फ मल वितरण गर्दा किसानहरूको भीड बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने भएकाले पनि समस्या आएको छ । प्रशासनले पनि अनुमति दिएको छैन,’ बञ्जाडेले भने ।
निषेधाज्ञा अवधिभर मल वितरण गर्ने अवस्था नरहेको र त्यसपछि प्रशासनको अनुमतिमा मल वितरणको व्यवस्था गर्न सकिने बञ्जाडेको भनाइ छ ।