तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको १६ वर्ष पूरा भइसक्यो तर विश्वमा नै चर्चित बनेको दरबार हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन । प्रधानमन्त्री भएका बेलामा गिरिजा प्रसाद कोइराला, पुष्पकमल दाहाल, माधव कुमार नेपाल लगायतकाले दरबार हत्याकाण्डको छानबिन गराएरै छाड्ने प्रतिबद्धता जनाएको पनि वर्षौं भइसकेको छ । ....(तर) केही पनि भएको छैन । युवराज दीपेन्द्रले हत्या गरेको भन्ने कुरा छानबिनपछि बनाइएको प्रतिवेदनले जनाएपनि त्यसमा अझै ठूलो जनसमूहलाई आशंका रहेको छ र सो प्रकरण शंकाकै घेरामा रहेको छ ।’
गत जेठ १९ गतेका दिन अरू पत्रपत्रिकामा जस्तैगरी एउटा राष्ट्रिय दैनिकमा प्रकाशित समाचार हो यो जसलाई यस अनलाइनले पनि उद्धरण गरेर छापेको थियो । वर्षमा एकपल्ट त्यो दिन त्यति कुरा छाप्नु, फुक्नु, देखाउनु सबै छापा र विद्युतीय सञ्चारमाध्यमका लागि कर्मकाण्ड जस्तै भइसकेको छ । आफैँलाई विश्वास नलागेपनि कर्मकाण्डीले कर्मकाण्ड नगरे केही अनिष्ट होला कि भन्ने डर माने झैँ, लोकलाजको डर माने झैँ यहाँ हामीले नछापे पनि अरूले छापिहाल्छन्, व्यवसायमा हामी मात्र किन पछि परौँ भन्ने डर होला ।
हत्याकाण्ड : केवल मसला
समाचारको कमीका बीच यो दिन प्राप्त हुने एउटा बनिबनाउ मसला किन छाड्नु भन्ने लोभ होला । षड्यन्त्रको समाचार जति सकारात्मक सन्देश दिने समाचार बिक्दैनन् भन्ने आँकलन होला इत्यादि । त्यसैले आउने धेरै वर्षसम्म जबसम्म शिक्षा र सूचना प्रवाहको स्तर विकसित देशको दाँजोमा पुग्दैन, जबसम्म बजारमा यस्ता समाचार पढ्ने र पत्याउने अर्धशिक्षितकै बजार ठूलो हुन्छ र जबसम्म सार्वजनिक ‘स्पेस’मा यस्ता प्रचारकै भरमा आफ्नो दुनो सोझ्याउने दल/नेता, अभियन्ताले कब्जा जमाइरहन्छन्, तबसम्म यो सिलसिला चलिरहनेछ । वीरेन्द्र र राजपरिवारका ११ जना सदस्य एकै चिहान भएका सो हत्याकाण्ड युवराज छोरा दीपेन्द्रले गराएका भन्ने नै आजसम्म उपलब्ध तथ्य र आधिकारिक जाँचले देखाएको छ । तर माथि भनिए झैं त्यसमा शंका गर्दै, खासगरी हत्याकाण्ड राजनीतिक षड्यन्त्रको परिणाम थियो भन्ने आशयले (फेरि) छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नपर्ने कुरा आज १५ वर्ष पछिसम्म पनि हुने गरेको छ ।
आशंक र हल्ला
षड्यन्त्र धेरैजसो वीरेन्द्रपछि राजा बन्न पुगेका उनका भाइ ज्ञानेन्द्रले र बेलाबखत विदेशी शक्तिले गराएका भन्ने गरिन्छ , यद्यपि पछिल्लो समय त्यस्तो कुरा गर्नेहरूको संख्या कम हुंदै गएको छ । हो, रहस्यमय लाग्ने यत्रो ठूलो र ऐतिहासिक हत्याकाण्डको यथार्थ जनसमक्ष आउनैपर्छ । तर यहाँ त यथार्थ यही हो भनेर मनोगत रूपमा आफैँ किटिदिने र मैले भनेकै जस्तो प्रतिवेदन आउनुपर्छ भनेर एकोहोरो रट लगाउने चलन छ । अब आजसम्मका विभिन्न कालखण्डमा सरकारमा रहेर पनि त्यस्तो कुरा गर्ने शक्तिशाली राजनीतिक वर्गसँग केही प्रश्न गरौँ । हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले हत्याकाण्ड लगत्तै बनाएको तीन सदस्यीय न्यायिक जाँच आयोगका प्रमुख थिए सर्वोच्च अदालतका बहालवाला प्रधान न्यायाधीश , न्यायिक छानबिन हुनुपर्ने विषयमा उनीभन्दा ठूलो र योग्य पात्र अर्को हुन्थेन । सदस्यहरूमा थिए तत्कालीन प्रतिनिधि सभा (संसदको तल्लो सदन)का सभामुख – अर्थात् सबभन्दा ठूलो र सार्बभौम जनप्रतिनिधि संस्थाका जननिर्वाचित साझा प्रमुख ।
हत्याकाण्डपछि बनेको छानबिन आयोग
अर्का थिए विपक्षी दलका नेता । छानबिनमा विपक्षी दलको पनि प्रतिनिधित्व रहोस् भन्ने मनसाय होला उनको मनोनयनका पछाडि । अब पहिलो प्रश्न – यथार्थ छानबिन नहोस् भनेर चाहेका भए यत्रो उच्चस्तरको, स्वतन्त्र र शक्तिशाली जाँच आयोग किन बनाउँथे होलान् राजाले ? यो आयोग ठीक थिएन भन्नेहरूले कस्तो आयोग बनाउनुपथ्र्यो, त्यो पनि भनिदिनु पर्यो । अथवा यो आयोगले सार्वजनिक गरेको प्रतिबेदन कति कारणले कहाँनेर ठीक थिएन त्यो त भन्नु पर्यो । त्यस्तो केही भन्न नसक्ने तर सधैँ सत्यतथ्य छानबिन गर्नुपर्छ भनिरहने भनेको त या अज्ञानता हो या बदनीयत ।
लेखक जैनेन्द्र
अर्को प्रश्न – आयोगमा राखिएका विपक्षी दलका नेता माधव कुमार नेपाल १५ वर्षसम्म दोस्रो ठूलो दलका शक्तिशाली कार्यकारी प्रमुख, आफ्नै दलका प्रधानमन्त्रीलाई थपना बनाउँदै २०५१–२०५२ सालमै ९/१० महिनासम्म शक्तिशाली उपप्रधानमन्त्री र त्यसपछिका कालखण्डमा झण्डै दुई वर्ष प्रधानमन्त्री भएका मान्छे हुन् । उनले आयोगमा बसी जिम्मेबारी निभाउनुको सट्टा किन त्यसमा बस्न इन्कार गरेर पन्छिए ? रहस्यको जाँच गर्न भनेर आफूमाथि राष्ट्रले पत्यार गरेर सुम्पिएको यत्रो ठूलो जिम्मेवारीबाट आफू चाहिँ भाग्ने, अनि कार्यकर्तालाई चाहिँ हत्याकाण्ड सधैँ रहस्यमय छ भनिरहन नैतिकताले दिन्छ ?
बाँचेका सदस्यले किन अपनाए त ज्ञानेन्द्रलाई ?
जाँच आयोगले भनेको कुरा एकछिन छाडिदिऊँ । मान्छेको ‘कमन सेन्स’ले सहजै देख्ने, बुझ्ने कुराको पनि जानाजानी चर्चा गरिएको छैन यस सन्दर्भमा । त्यसो गर्दा राजनीतिक उद्देश्यका लागि षड्यन्त्रको सिद्धान्तको खेती गर्नेहरूको पोल खुल्छ । जानाजान ओझेलमा पारिएका त्यस्ता एउटा दुइटा तथ्य केलाऊँ । वीरेन्द्र र ज्ञानेन्द्रकी आमा रत्न र साक्खै बहिनी शोभा शाहीले ज्ञानेन्द्रलाई अपनाएका छन् आजका मितिसम्म । पछिल्ला दुवैको अघिल्ला दुवैसँग एउटै नाता हो ।
अरूले अपनाएपनि, निष्ठा जनाएपनि १०० वर्ष उमेर पुग्न लागेकी ती वृद्धा र हत्याकाण्डमा बच्न सफल एकमात्र जीवित बहिनीले त वीरेन्द्र लगायत आफ्ना ११ जना परिवार जनको जघन्य हत्याकाण्ड “गराउने” ज्ञानेन्द्रलाई किन त्यसरी अपनाउँथे, माया गर्थे होलान् ? उसको त मुखै हेर्दैनथे होलान् नि होइन र ?
दुवैकी काकाकी छोरी केतकी चेष्टर, जो हत्याकाण्ड हुँदाको रात्रिभोजमा सम्मिलित भइकन पनि बच्न सफलमध्येकी एक ‘देखी जान्ने साक्षी’ थिइन् ठूली आमा रत्न र दिदी शोभा शाही जस्तैले त आयोगमा बयान दिनुका अलावा बिबिसी लगायतका प्रतिष्ठित सञ्चार माध्यमहरूलाई युवराज दीपेन्द्रले नै सो घटना गराएको कुरा सार्वजनिकै हुनेगरी बताइसकेको रेकर्डै छ । त्यो दिन हत्या हुनबाट संयोग र सौभाग्यले बचेका राजपरिवारका अरू बाँकी सदस्य र इष्टमित्रहरू सबैको यही बयान र भनाइ छ ।
किन बोलेन कोही मालिकको हत्यामा ?
त्यस्तै, वीरेन्द्रले दशकौंदेखि काम लगाएका र उनीप्रति निष्ठावान उनको विशाल सचिवालयका ‘सिभिलियन’देखि जंगीसम्मका सब कर्मचारी र चौबीसै घन्टा हतियारका साथ उनको सुरक्षामा खटिने एडिसीहरू समेतलाई यथावत् राखेर, एउटालाई पनि परिवर्तन नगरिकन, अत्यन्त विश्वास गरेर काम लगाएका, उत्तराधिकारमा स्वीकारेका थिए ज्ञानेन्द्रले ।
हत्याकाण्ड उनले गराएको भए त न उनले ती कर्मचारीमाथि त्यसरी विश्वास गर्थे न ती कर्मचारी नै उनीप्रति निष्ठावान् हुन्थे । विद्रोह वा भण्डाफोर गर्ने हिम्मत नभएपनि राजीनामा गर्ने त निस्कन्थ्यो होला एउटा न एउटा कोही, आफ्नो मालिकको हत्या हुँदा ।
२०६५ सालपूर्व कसैले चाहेर पनि डरले वा प्रलोभनमा परी त्यसो गर्न नसकेको भएपनि त्यसपछि राजतन्त्र हटेर देशमा गणतन्त्र आएकै आठ वर्ष नाघिसक्दा त त्यस्तो कोही न कोही निस्कन पर्ने हो । राजालाई नै हटाएर गणतन्त्र ल्याउन र आफू सत्तामा पुग्न सक्नेहरूले सुरक्षाको प्रत्याभूति दिँदै त्यस्तो एकजना पनि किन खोज्न नसकेका होलान् यस बीचमा ? यसको जबाफ न गिरिजाबाबुले बाँचुन्जेल दिए, न प्रचण्ड बाबुरामहरूले बाँचुन्जेल दिने छाँट छ । यिनै त थिए षड्यन्त्र सिद्धान्तका सूत्रधार ।
कोमललाई कसले हान्यो त गोली ?
ज्ञानेन्द्रकी रानी कोमललाई पनि गोली लागेको थियो हत्याकाण्डमा । हल्ला, शंका गरिए जस्तो भएको भए त उनलाई किन गोली हानिन्थ्यो होला ? पछि औषधोपचार गरेर बचेकी हुँदा उनलाई पनि पहिले गोली हान्ने अनि बचाउने पूर्वनियोजित षड्यन्त्र थियो भन्ने जस्तो बौलट्ठी कुरा गर्ने हो भने त बेग्लै हो । छाती र तिघ्रामा ताकी ताकी गोली हान्ने तर ज्यान चाहिँ नजाने पक्का गर्ने काम त शार्प शूटरले पनि गर्नसक्दैन । त्यसो गर्ने त जादूगरै होला । षड्यन्त्र सिद्धान्तका प्रवद्र्धकहरू कसैसँग पनि यीे र यस्ता कुनै पनि जिज्ञासाको जवाफ छैन, हुन पनि सक्दैन । उनीहरूसँग त पुष्टि जति अरूले गरिदिनुपर्ने सिद्धान्त मात्र छ ।
जहाँसम्म सो घटना विदेशी शक्तिले गरायो भन्ने कुरा छ, त्यो त झनै वाहियात छ । हुन त माओवादी मोर्चाका गैरजिम्मेवार नेता/राजनीतिकर्मी र षड्यन्त्र सिद्धान्तका अभियन्ताहरू जसले राष्ट्रवादी र प्रजातन्त्रवादी भएकै कारण वीरेन्द्रको हत्या भएको प्रचार गर्ने गरेका छन् बेलाबेलामा, उनीहरूले त्यस प्रचारबाजीको ‘बोनस’ पाइसके । गणतन्त्र (चाँडो) ल्याउन चाहने उनीहरूलाई यस्तो प्रचार अभियानबाट प्रशस्त लाभ पनि मिल्यो । यस्तो प्रचारबाट ज्ञानेन्द्रको पहिलेदेखिको बिग्रिएको सार्वजनिक छवि थप बिग्रन गई त्यसले उनीहरूलाई गणतन्त्र ल्याउन सजिलो र छिटो तुल्याइदियो ।
कार्यकारी शक्ति नभएका राजालाई किन मार्नुपथ्र्यो ?
आफ्नो सत्ताका लागि जति जति बेला भारत अनुकूल हुँदैन त्यति त्यति बेला ऊप्रति संकेत गर्दै यस्तो कटाक्ष गर्नेमा चाहिँ माओवादी मोर्चाका अध्यक्ष प्रचण्ड अग्रपंक्तिमा छन् । कोही कोहीले यदाकदा पश्चिमा शक्तितिर संकेत गरेर पनि यस्ता कुरा गरेका छन् । अब उनीहरूसँग प्रश्न – यो सानो, गरिब, शक्तिहीन, भ्रष्ट र कमजोर राज्य, जहाँ शक्तिशाली विदेशीले गर्न चाहेका ‘कभर्ट वा ओभर्ट’ जुनसुकै ‘अपरेसन’ पनि निर्बाध रूपमा गर्न पाइरहेकै छन्, त्यस्तो राज्यका पनि कुनै कार्यकारी अधिकार नभएका र संवैधानिक बनेका राजालाई मार्न लगाउन किन पर्यो विदेशी शक्तिलाई ? अनि विदेशीले नै मार्न लाएको भए त राजालाई मात्र मारे पुग्थ्यो, परिवारका महिला लगायतका थुप्रै अरूको हत्या किन गर्थे ?
हो, राजा ज्ञानेन्द्र दुस्साहसी र मूर्ख थिए, जो समयको गतिको विपरीत सक्रिय शासक हुन खोज्थे । उनले मूर्खता र दुस्साहसपूर्वक सत्ता हत्याएको फल पन्ध्रै महिनामा पाए । जनआन्दोलनको फलस्वरूप आफू मात्र सत्ताच्युत भएनन्, साढे दुई सय वर्ष पुरानो र दाजुको पालामा संवैधानिक भएर लोकप्रिय पनि हुँदै गरेको राजसंस्थालाई पनि आफ्नो सती लगे ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको गौरवयुक्त विरासत उत्तराधिकारमा पाएको राजसंस्था जसको यो देशको एकीकरणमा ठूलो र आधुनिकीकरणमा पनि केही योगदान छ, त्यसलाई समाप्त गर्ने अपजस उनैलाई जान्छ । यसरी आफ्नो मुख्र्यांइको चाहिनेभन्दा बढी दण्ड पाइसकेको अवस्थामा नखाएको विष चाहिँ उनलाई पनि लाग्नुहुन्न । हत्याकाण्ड हुनासाथै केही समय सर्वसाधारणले उत्तेजनामा आएर उनीविरुद्ध नारा लाउनु, उनीमाथि शंका गर्नु स्वाभाविक भएपनि अब चाहिँ यो बेकारको बहसलाई सधैँका लागि समाप्त पार्नुपर्छ, राजनीतिज्ञले मात्र होइन, मिडिया र जागरुक नागरिक समाजले पनि ।
‘च्याप्टर क्लोज’
अहिलेसम्म बाहिर आएको प्रमाण र निष्कर्षलाई झूट साबित गर्नसक्ने थप वा नयाँ सत्यतथ्य कसैले ल्याइदिए, देखाइदिए, उद्घाटित गरिदिए त नया शिराबाट अनुसन्धान हुने नै छ । होइन भने अब यो ‘च्याप्टर क्लोज’ भैसकेको छ, हुनु पनि पर्छ किनकि मुलुक सधैँ चिहान उधिनेर बसिरहन सक्दैन, हुँदैन । त्यो अगाडि बढ्नुपर्छ र विकास गर्नुपर्छ ।
सधैं र जेमा पनि राजनीति गर्ने र जेमा पनि संशय गर्ने, षड्यन्त्र देख्ने मनोविज्ञानले समाजको भलो र देशको विकास गर्दैन । त्यसो होइन भने त हामीले डेढसय वर्षभन्दा पहिलेको कोतपर्व जंगबहादुरले गराएकै होइन, सत्यतथ्य जनसमक्ष ल्याइयोस् भन्न थाले हुन्छ । अंग्रेजीमा ‘सिनिसिज्म’ भनिने यो मनोरोगले हाम्रो राजनीति, समाज र देश ग्रस्त भएको, पारिएको अवस्था छ ।
आज आफ्नो फाइदाका लागि सिनिसिजमलाई बढावा दिने दल, नेता, राजनीतिज्ञ र कथित अभियन्ताहरूले बुझ्नुपर्छ – भोलि त्यै सिनिसिज्मले उनीहरू आफैँलाई पछार्न, रुवाउन सक्छ । मानिलिऊँ, ओली र माधव नेपालको सम्बन्धमा तिक्तता अहिलेको भन्दा पनि बढ्दै गयो र बदला लिन ओलीले मदन भण्डारीको “हत्या”मा माधव नेपालको हात छ किनभने मदन भण्डारी बाँचिरहेको भए कहिल्यै पार्टीको कार्यकारी प्रमुख र प्रधानमन्त्री हुननसक्ने उनको बाहेक अरू कस्को ‘मोटिभ’ हुन्छ मदनको हत्यामा (ज्ञानेन्द्रको राजा हुने मोटिभ देखाए जस्तै) भन्ने बहस छेड्न लाए आफ्ना समर्थकलाई उचालेर भने भोलिदेखि ?