२१ जेठ २०८३, बिहीबार

गण्डकीमा जेठ १६ लाई अधिवेशन आह्वान सिफारिस

गण्डकीमा जेठ १६ लाई अधिवेशन आह्वान सिफारिस

लामो समयदेखि स्थगित गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिने भएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जेठ १६ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता रामशरण बस्नेतले बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेशसभाको अधिवेशन जेठ १६ गते दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने गरी संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्ले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वानका लागि सिफारिस गर्ने व्यवस्था छ । 

यसैगरी, मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार, सहकारी विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा पेस सडकसम्बन्धी विधेयक निर्माणको सैद्धान्तिक स्वीकृति दिएको छ । 

गण्डकी प्रदेशमा २९ वैशाखमा दोस्रो कार्यकालका लागि नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । उनले साविकको ८ मन्त्रालय फुटाएर ११ मन्त्रालय बनाएका छन् ।

प्रदेशसभामा कुल ६० सदस्यमध्ये उनको पार्टी नेकपा एमालेसँग २७ सदस्य छन् । स्वतन्त्र सांसद दीपक मनाङ्गेको साथ उनलाई छ । बहुमत ३१ सदस्य पु¥याउन थप ३ सदस्य आवश्यक पर्दछ । 

नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चा नेपालका ३ र जसपाका २ सांसद छन् । मुख्यमन्त्रीले सत्ता टिकाउन यतिबेला विपक्षी दलहरूलाई फकाउँदै छन् । 

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा मत विभाजन हुने दिन प्रदेशसभाको गत १५ वैशाखपछि बैठक बसेको छैन ।

२७ वैशाखका लागि पुनः बैठक आह्वान गरिएकोमा त्यसको अघिल्लो दिन २६ वैशाखमा मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेशका राजनीति एक्कासी फेरिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्