२३ असार २०८३, मंगलबार

‘बहुमत सांसदले प्रस्ताव गरेको व्यक्ति प्रधानमन्त्री बन्दैन भने संविधान जीवन्त रहन्छ ?’

‘बहुमत सांसदले प्रस्ताव गरेको व्यक्ति प्रधानमन्त्री बन्दैन भने संविधान जीवन्त रहन्छ ?’
फाइल फोटो

नेपाली कांग्रेसका नेता रमेश लेखकले सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताएका छन् ।

सोमवार सर्वोच्च अदालतमा देउवाको पक्षमा बहुमत देखिएको उनले दाबी गरे । 

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूको छलफलपछि पत्रकारसँग कुरा गर्दै लेखकले देउवालाई प्रधानमन्त्री नियुक्त नगर्दा संसदीय प्रणाली र संविधानको जीवित रहन नसक्ने जिकीर गरेका हुन् । 

‘संसदीय व्यवस्थामा बहुमतले सरकार बनाउने हो नि ! हिजो अदालतमा बहुमत देखियो नि ! संसद्ले बहुमत भनेको मानिस प्रधानमन्त्री नभए प्रधानमन्त्री हुने को हो ? संसदीय पद्धतिमा बहुमत सांसदले प्रधानमन्त्री प्रस्ताव गरेको मानिस प्रधानमन्त्री बन्दैन भने अनि संविधान जीवन्त रहन्छ ? व्यवस्था जीवित रहन्छ ?’ लेखकले भने । 

संविधानसभाका पूर्व सदस्य समेत रहेका लेखकले संविधानको धारा ७६ को उपधारा १ देखि ३ सम्म राजनीतिक दलले सरकार बनाउने भए पनि उपधारा ५ मा सांसदको भूमिका रहने जिकीर गरे । ‘७६ को १ देखि ३ सम्म दलको कुरा छ, दलले सरकार बनाउन नसके सांसदको कुनै दृष्टिकोण या मान्यता हुँदैन ? संविधानले दिएको भूमिका हो नि !’ उनले भने । 

शीर्ष नेताहरूबीच मंगलवारको बैठकमा सर्वोच्च अदालतमा कानूनी लडाइँ कसरी लड्ने भन्नेबारे छलफल भएको उनले जानकारी दिए ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता माधवकुमार नेपाल सहभागी थिए । 

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनको तर्फबाट बहुमत सदस्यले सोमवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्