
कोभिड–१९ संक्रमणको महामारीविरुद्ध स्वास्थ्य संस्थामा अग्रपंक्तिमा खटिने नर्सले स्वयंसेवी अभियानमार्फत संक्रमित तथा परिवारका लागि निःशुल्क परामर्श सेवा शुरूआत गरेका छन् ।
नर्सिङ काउन्सिलबाट इजाजतप्राप्त उनीहरूले ‘कोभिड विशेष नर्स समूह’ गठन गरी सातै प्रदेशमा टेलिफोन, अनलाइन लगायतका माध्यमबाट कोभिड–१९ बारेमा निःशुल्क परामर्श सेवा शुरू गरेका हुन् ।
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ । समूहका कर्णाली प्रदेश संयोजक नर्स मोना दाहालले कोभिड–१९ संक्रमित तथा परिवारका लागि सबैभन्दा पहिला उचित परामर्श जरुरी रहेको बताइन् ।
कर्णालीबाट हालसम्म ४५ भन्दा बढी नागरिकले परामर्श सेवा लिइसकेका छन् । ‘लाइसेन्सप्राप्त इच्छुक नर्सलाई यो स्वयंसेवी अभियानमा जोडिन आह्वान गरेका छौं, अहिलेसम्म १०० नर्स अभियानमा आवद्ध भइसकेका छौं,’ उनले भनिन्, ‘कर्णालीका १० जिल्लामा रहेका इच्छुक नर्सहरूले अभियानमा आवद्ध हुन आवेदन दिनुभएको छ ।’
समूहसँग हाल परामर्शकर्ता, संयोजक र तथ्यांक सहजकर्ता छन् । कोभिड अनलाइन कक्षा, टेलिफोनबाट बिरामी तथा उनीहरूका आफन्तले निर्धक्क आफ्ना समस्या राख्न सक्नेछन् ।