
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ ।
पर्याप्त अक्सिजन सहितका सिलिन्डर नहुँदा संक्रमितको उपचारमा समस्या देखिएको हो ।
अस्पतालका अनुसार संक्रमितको संख्या बढ्दै गएपछि दैनिक करीब १८० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ ।
अस्पतालको अक्सिजन प्लान्टको ५० वटा मात्रै सिलिन्डर भर्न सक्ने क्षमता छ । बिरामीलाई आवश्यक अक्सिजन जुटाउन स्थानीय प्रशासनसँग हरेक दिन समन्वय गर्नुपर्ने अवस्था छ । पुरानो भवनका १४४ शय्यामा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ ।
अस्पतालमा कोभिडका लागि जनरल बेड ९०, एचडीयु ४०, आईसीयु ११ र ३ भेन्टिलेटर छन् ।
कोभिडको दोस्रो महामारी लगत्तै क्यान्सरका बिरामीको चापमा कमी आएपछि अस्पतालले क्यान्सर बाहेकका अन्य कोरोना संक्रमितको पनि उपचार गर्ने गरी वार्ड तयार पारेको हो । अस्पतालको आफ्नै कोभिड–१९ प्रयोगशाला समेत छ ।
हालसम्म जेनेतेन अक्सिजनको व्यवस्थापन गरिरहेको बताउँदै कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भने, ‘बिरामी थपिँदै जाँदा चुनौती पनि थपिँदै गएको छ ।’
उनका अनुसार अधिकांश संक्रमित अक्सिजनको सहारामा उपचार गर्नुपर्ने अवस्थाका रहेका छन् । अहिले हाइफ्लो अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
उनले भने, ‘अहिलेको मुख्य समस्या अक्सिजन व्यवस्थापनै हो ।’