
उपत्यकामा जारी निषेधाज्ञा १ हप्ता थपसहित किराना पसल समेत खोल्न नपाइने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रमुख अधिकारीको मंगलवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
निषेधाज्ञा १ हप्ता थपसँगै उपत्यकामा अब आगामी जेठ २० गतेसम्म निषेधाज्ञा कायम हुनेछ । काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुुसार निषेधाज्ञा अनुसार निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर समेत खोल्न पाइने छैन ।
कोरोना संक्रमण दर कम नभएपछि यस्तो निर्णय गर्न बाध्य भएको उनले जानकारी दिए । ‘जारी निषेधाज्ञा १ हप्ता थप गर्ने निर्णय भयो, अब किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।
तरकारी तथा दुधजन्य पदार्थ, फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने सञ्चालनमा रोक लगाएको छैन । यस्ता पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ ।
कोरोना दोस्रो लहरको संक्रमण बढ्दै गएपछि काठमाडौंसहित भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनै जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
यसअघि गत वैशाख ३० गते निषेधाज्ञा थप गर्दै २ हप्ता र त्यसअघि वैशाख २२ गते १ हप्ता थप गरिएको थियो । पछिल्लोपटक थप निषेधाज्ञा जेठ १३ गतेसम्म तोकिएको हो । पछिल्लोपटक सरकारले कोभिड–१९ अध्यादेश २०७८ ल्याएपछि प्रशासनले निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ समेत गरेको छ ।
अध्यादेशअनुसार अनुमति विना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक सवारीसाधन चलाएर कारवाही गर्नसक्ने उल्लेख छ । अनुमति विना सवारी चलाएको भेटिए २ पांग्रेलाई २ हजार र अन्य सवारीसाधनलाई ५ हजार रुपैयाँसम्म जरिवाना लिन सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा उल्लेख छ ।
निषेधाज्ञा व्यक्तिले उल्लंघन गरेमा प्रमुख जिल्ला अधिकारीले तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् भने संस्थाले उल्लंघन गरेमा ५ लाख रुपैयाँ जरिमाना गराउन सक्नेछन् ।
मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पटकैपिच्छे १०० रुपैयाँ तिराउन सक्ने अध्यादेशमा उल्लेख छ । हिँडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई २०० रुपैयाँ जरिवाना गराउन सकिने छ ।
खोल्न छुट नदिइएका व्यवसाय खोलेको पाइए प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि ‘सिल’ गराउन सक्नेसम्मको अधिकार अध्यादेशले दिएको छ । यसबाहेक अध्यादेशबमोजिम जारी मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद र ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने छ । राजधानी दैनिकमा खबर छ ।