
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बौद्धकालीन सम्पदाको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रूपमा संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।
बुधवार २५६५ औं बुद्धजयन्तीका अवसरमा शुभकामना दिँदै उनले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा रहेका धेरै स्थलहरूको अवस्थाबारे जानकारी हुनसकेकाले माटोमुनि दबिएर रहेका ती सम्पदास्थलको अन्वेषण गरी संरक्षित गर्नु आवश्यक रहेको बताए ।
बुद्धकालीन सम्पदाका रूपमा रहेका ऐतिहासिक स्थलहरू तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोट लगायतका स्थलको खोज, अनुसन्धान तथा पर्यटकीय हिसाबले ती क्षेत्रको विकास जरुरी रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री पोखरेलले बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि काम अघि बढेको जानकारी गराउँदै उनले यी महत्त्वपूर्ण सम्पदास्थलमा पूर्वाधार तयार गरी पर्यटन प्रवद्र्धनका लागि बृहत्तर ढंगले काम अघि बढाउनुपर्ने जनाए ।
‘पर्यटन प्रवद्र्धनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ हामी योजनाबद्ध रूपले अघि बढिरहेका छौं,’ मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको जोखिमका कारण बुद्धजयन्तीमा लुम्बिनीमा औपचारिक कार्यक्रम आयोजना नगरिएको जानकारी गराए । ‘आजभन्दा २५६५ वर्षअघि अर्थात् इसापूर्व ५६३ मा लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ । मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि बुद्धले २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकारसहित गृह त्याग गर्नुभयो,’ शुभकामना सन्देशमा भनिएको छ ।
हिंसा र दुःखको कारण तथा समाधानको उपायको खोजीमा गृह त्याग गरेका सिद्धार्थ गौतम बुद्धले भ्रातृत्व र मानव कल्याणका लागि समाजलाई महान् दार्शनिक विचारबाट दीक्षित गरेको र मानिसलाई सत्कर्मको बाटोमा हिँडाउन सफल भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धका उपदेशहरू आज बुद्ध दर्शनका रूपमा स्थापित भएका बताए ।
बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानवजातिकै लागि अमूल्य निधि भएका उनको भनाइ छ ।