गरीब मुलुकहरूलाई बेलायतले खोप उपलब्ध गराएर लाखौं मृत्यु तथा चरम संक्रामक म्युटेसनहरू रोक्नुपर्ने विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले बताएका छन् ।
धनी मुलुकहरूले विश्वव्यापी रूपमा खोप उपलब्ध नगराएमा नयाँ नयाँ भेरिएन्टहरू आइरहने उनीहरूको भनाइ छ ।
यसले गर्दा थप लकडाउन लगाउनसपर्ने र अनावश्यक रूपमा धेरैजनाको ज्यान जाने पनि उनीहरूले बताए ।
बेलायत धनी र गरीब मुलुक दुवैमा खोपको समान पहुँच पुर्याउने कोभ्याक्स योजनाको महत्त्वपूर्ण सदस्य हो ।
अहिलेसम्म संसारका ११७ देशमा चार करोड डोज दिइसकेको छ ।
तर यसमा थप वृद्धि गर्नुपर्ने विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक समूह र विश्व व्यापार संगठनका प्रमुखहरूले बताएका छन् ।
जी७ लगायतका धनी मुलुकहरूले विकासशील देशलाई सहयोगका लागि ५० अर्ब डलर खर्च गर्ने प्रतिबद्धता जनाउनुपर्ने र त्यसले मात्र महामारी सधैंका लागि अन्त्य गर्ने उनीहरूको तर्क छ ।
खोपको असमान वितरणले लाखौं मानिसलाई भाइरसको जोखिममा पारेको छ र खतरनाक भेरिएन्टहरू जन्माइरहेको छ । ती भेरिएन्टहरू संसारभरि फैलिरहेका छन् ।