भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीबीचको शीतयुद्ध जारी छ ।
ममताले सोमवार मोदी र केन्द्र सरकारविरुद्ध कडा बयान दिएकी छन् ।
उनले देशका सबै राज्यमा गैरभाजपा विपक्षी दलका मुख्यमन्त्री र वरिष्ठ नेताहरूलाई केन्द्र सरकारको तानाशाही दृष्टिकोणविरुद्ध नडराइकन आवाज उठाउन आह्वान गरिन् ।
त्यसक्रममा उनले बलिउडको सदाबहार फिल्म शोलेको संवाद पनि भनिन्– जो डराउँछ, त्यो मर्छ ।
ममताले बंगालका मुख्यसचिव अलपन बन्द्योपाध्यायका विषयमा भएको खिचातानीका विषयमा सोमवार पत्रकार सम्मेलन गरेकी थिइन् । केन्द्र सरकारले संघीय व्यवस्था र प्रशासनतन्त्रलाई ध्वस्त बनाउन खोजेको आरोप उनले लगाइन् ।
उनले भनिन्, ‘ए मन की बात मोदी, तिमी मलाई कहिल्यै सिध्याउन सक्दैनौ । हामी धम्कीबाट डराउने खालका परेनौं । बंगालले कहिले पनि हार्न सिकेको छैन । हामी टाउको ठड्याएरै अघि बढ्छौं ।’