
नेकपा एमालेले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी आफूले भनेको न्यायाधीश नै चाहिन्छ भन्नु स्वतन्त्र न्यायपालिकाको मर्मविपरीत भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्नेगरी भइरहेका अस्वस्थ गतिविधिप्रति समीक्षा गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित गर्नेगरी जे ढंगका दबाब र अलिकति अस्वस्थ खालका गतिविधि भइरहेका छन्, त्यस बारेमा समीक्षा गर्यौं । आफूले भनेकै न्यायाधीश चाहिन्छ र फैसला चाहिन्छ भने ढंगले सिर्जना गरिएका दबाब स्वतन्त्र न्यायपालिकाको मर्मसँग मेल खाँदैनन्, यस्तो उचित होइन भन्ने निष्कर्ष छ,’ ज्ञवालीले भने ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा केही न्यायाधीशलाई लिएर कतिपय कानून व्यवसायीले असहमति जनाएका थिए ।