
झापाको नेकपा एमाले बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजन सहितको सिलिन्डर खरिद गरेको छ ।
विभिन्न दाताबाट संकलन गरेको रकमबाट एभरेस्ट ग्यास उद्योग काठमाडौंबाट खरिद गरी मंगलवार साँझ झापा ल्याइएको हो ।
बुधवारै सबै अक्सिजन सिलिन्डर नगर अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
नगर अस्पतालमा अक्सिजन सहितको सिलिन्डरको अभाव भएपछि नगर कमिटिले सहयोग संकलन अभियान नै चलाएर १५ लाख रुपैयाँ रकम संकलन गरेको थियो । सोही रकमबाट ५० सिलिन्डर खरिद गरेको र बाँकी ६ लाख ५० हजार रुपैयाँ बचत रहेको नगर कमिटीका सचिव सुभास भट्टराईले जानकारी दिए ।
उनका अनुसार प्रतिसिलिन्डर १६ हजार रुपैयाँका दरले अक्सिजन सिलिन्डर खरिद गरिएको छ । उनले १ जना दाताले १ सिलिन्डर बराबरको नगद सहयोग गरेको बताए ।
बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएकोे छ ।