
लुम्बिनी प्रदेश सभाको बुधवार दिउँसो बस्ने बैठकमा अनिवार्य उपस्थितिका लागि एमाले संसदीय दलले आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।
साथै सरकारको नीति तथा कार्यक्रम र बजेट एकढिक्का भएर पारित गराउन पनि एमालेको निर्देशन छ ।
बुधवार बिहान बसेको बैठकमा विपक्षी गठबन्धनले शुरूमै मुख्यमन्त्रीको राजीनामा माग्ने योजना बनाएपछि एमाले संसदीय दलको बैठक बसेको थियो ।
त्यसै बैठकबाट एमालेले सबै सांसदलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सबै सांसदहरूलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै बिरामी परेपनि संसद्मा उपस्थिति जनाउन निर्देशन दिएको उनले बताए ।
‘बिरामी पर्ने वातावरण नै नबनाउन र परिहाले पनि स्वास्थ्य मापदण्ड पालना हुने गरी संसदमा अनिवार्य उपस्थित हुन मुख्यमन्त्रीजीले निर्देशन दिनुभएको छ,’ उनले भने ।
मन्त्री चौधरीले कानूनी हिसाबले गोप्य मतदानको परिणामलाई संसदीय कारवाही मान्न नसकिने बताउँदै राष्ट्रिय सभाको परिणामका आधारमा सरकार अल्पमतमा परेको भन्न नमिल्ने जिकिर गरे ।
प्रदेशका विपक्षी गठबन्धनले राष्ट्रिय सभा उपनिर्वाचनमा पनि सरकार अल्पमतमा परेको पुष्टि भएकाले राजीनामाको विकल्प नरहेको बताउँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले सरकार अल्पमतमा नरहेको र नीति तथा कार्यक्रम र बजेट पास हुन नसकेपनि सरकारबाट हट्न संविधानले बाध्य नपारेको बताएका छन् ।