
काठमाडौं, २० जेठ– मत पत्र च्यातिएपछि रोकिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान हुने भएको छ ।
आज बसेको आयोगको बैठकले मत पत्र च्यातिएको स्थानमा पुनः मतदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ–स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएको हुँदा सोहि दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको बडा नम्बर १९ को मदतान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरि मतदान गर्ने ।’
रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोक्न भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी समेत आयोगले दिएको छ ।

जेठ १४ गते मतगणना भइरहेको समयमा मतगणनामा सहभागी दलका प्रतिनिधिले मत पत्र च्यातिएसँगै भरतपुरको मतगणना स्थगित भएको थियो । एमालेले माओवादी केन्द्रले मतपत्र च्यातेको आरोप लगाएको छ । भने माओवादीले त्यसलाई खण्डन गर्दै आएको छ । मत पत्र च्यातेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका दुई कार्यकर्ता जनही १/१ लाख धरौटीमा छुटेका छन् ।
मत गणना स्थगन भएसँगै निर्वाचन आयोगले सहमहान्यायधीवक्ता गीताप्रसाद तिमल्सिना को नेतृत्वमा अनुगमन टोलि भरतपुर पठाएको थियो । उक्त टोलीले त्यहाँको अवस्थाबारे आयोगमा प्रतिवेदन बुझाएपछि निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकृतलाई च्यातिएका मतको एकिन विवरण पठाउन निर्देशन दिएको थियो ।
प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, जिल्ला प्रहरी प्रमुख, राजनीतिक दलका उम्मेदवार र प्रतिनिधिको रोहबरमा च्यातिएको मतगणना गर्दा ९० मत च्यातिएको अवस्थामा पाइएको थियो । त्यसबारे आयोगमा जानकारी पठाएसँगै निर्वाचन आयोगले लामो छलफल र बैठक पछि निर्वाचन रोकिएको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
मत गतगणना रोकिएपछि नेकपा माओवादीले अविलम्ब मतगणनाको माग गरेर दवाव दिँदै आएको थियो । पुन मतगणनाको माग गर्दै एमालेले दुई दिनदेखि संसद अवरुद्ध गरिरहेको छ । उता नेपाली कांग्रेस र माओवादी गठबन्धनले भने पुनः मतदानको माग गर्दै आएका थिए ।
मत गणनाका क्रममा मत पत्र च्यातिपु पूर्व एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले माओवादी केन्द्रकी उम्मेदवार रेणु ज्ञवाली भन्दा ७ सय ३७ मतका बढी पाएका थिए ।