२६ असार २०८३, शुक्रबार

आम्दामा भेन्टिलेटर सहित २५ शैयाको कोभिड अस्पताल

आम्दामा भेन्टिलेटर सहित २५ शैयाको कोभिड अस्पताल

बुटवल, जेठ २१ । रुपन्देहीको बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु भएको छ ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटर सहित ५ आईसीयु तथा १० एचडीयू र १० जनरल (कोभिड आईसोलेशन) समेत गरी २५ वेडको कोभिड वार्डबाट सेवा सुरु गरिएको हो । 

कोभिड–१९ आईसीयु वार्डको बुधबार लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ उद्घाटन गरे । आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति लिएसँगै बुटवल उद्योग बाणिज्य संघ र आम्दाको बीचमा आईसीयु सञ्चालनको लागि दुई पक्षीय सम्झौता भएको थियो । सोही अनुसार संघले दुई आईसोलेशन सहित आइसीयुका ५ बेड सहयोग गरेको हो । 

मन्त्री श्रेष्ठले आम्दा अस्पतालको स्रोत व्यवस्थित गरी आगामी दिनमा अझ व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसको लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउँदै उनले निजी, सार्वजनिक, सहकारी र सरकारी नीति लिन आवश्यक रहेको समेत उल्लेख गरे । कोभिड केयर युनिट सञ्चालनको लागि आम्दाले सरकारसंग तीन करोड रुपैंया माग गरे अनुसार संघीय सरकारलाई अनुरोध गरिएको जानकारी गराउँदै केन्द्र सरकारले नगरे प्रदेश सरकारले त्यसको ब्यवस्थापन गर्ने समेत उनले  उल्लेख गरे ।

आम्दा अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आमा बच्चाको उपचारको लागि स्थापना गरिएको अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागु गर्न नसकिएको बताउँदै १५ वेड भन्दा माथिको अस्पताललाई प्रदेश सरकारले हेर्ने भएकाले प्रदेशको समेत दायित्व हुनेगरी नयाँ तरिकाले अगाडि बढ्नुपर्ने उल्लेख गरे ।  

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोरोना भाईरस महामारीका कारण उपचार अभावमा धेरैले ज्यान गुमाउनु परेको स्तब्ध बनाएको उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु हुँदैन भनेर संघले जति सकिन्छ भेन्टिलेटर सहित आईसीयु सेवा सञ्चालनको लागि वातावरण बनाएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्