भारतमा घोटाला गरेर विदेश भागेका व्यापारी मेहुल चोकसीलाई भारत फर्काउनका लागि विभिन्न समस्या आइलागेका छन् ।
उनलाई डोमिनिकाबाट सुपुर्दगी गराएर भारत ल्याउने प्रक्रिया लम्बिने भएको छ । त्यहाँको अदालतले यस विषयमा सुनुवाइ स्थगित गरेको छ ।
चोकसीलाई ल्याउन सबै प्रबन्ध मिलाएर डोमिनिका पुगेका भारतीय अधिकारीहरू रित्तै फर्केका छन् । डोमिनिका पुगेको विशेष विमान भारत फर्किएको छ । विमान फर्किंदा चोकसी अस्पतालमा प्रहरीको निगरानीमा छन् ।
चोकसीलाई भारत ल्याउनका लागि सरकारले भरमग्दूर प्रयास गरिरहेको छ किनकि उनीबाट धेरै रहस्यहरू निकाल्नुपर्नेछ ।
चोकसीलाई लिनका लागि कतार एयरवेजको बम्बार्डियर ग्लोबल जेट ५०० पठाइएको थियो । यसको भाडा एक घन्टाको ९ लाख भारु छ । विमान डोमिनिका पुगेर भारतसम्म आउँदा साढे दुई करोड भारुभन्दा बढी खर्च भएको छ ।
भारतको सीबीआई र ईडीका अधिकारीहरूले चोकसी भारतीय नागरिक नै भएको कुरा साबित गर्नुपर्नेछ । उसको भारतीय नागरिकता कायम रहेको छ । एन्टीगामा बस्नुअघि चोकसीले नागरिकता त्याग्नका लागि आवश्यक कागजी कारवाही पूरा गरेका छैनन् ।