काठमाडौँ, २० जेठ– व्यबस्थापिका संसदमा आइतवार हुने प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एक्लो उम्मेदवारी परेको छ ।
निर्वाचन प्रक्रियालाई नै अबैध भन्दै नेकपा एमाले लगायत प्रतिपक्षी दलले उम्मेदवारी नदिएपछि प्रधानमन्त्री निर्वाचनमा देउवा एक्लो उम्मेदवार बनेका हुन् ।
एकमात्र उम्मेदवारी परे पनि प्रधामनन्त्री निर्वाचित हुन देउवाले संसदमा कायम सदस्य संख्याको बहुमत पुर्याउनु पर्नेछ । संसदको आइतवार बस्ने बैठकमा सभामुख ओनसरी घर्तीले देउवाको प्रस्तावलाई निणयार्थ पेश गर्ने छिन् । त्यसअघि उम्मेदवारका प्रस्तावक र समर्थकले उम्मेदवारको पक्षमा संसदमा बोल्ने छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रस्ताव रहेको देउवाको उम्मेदवारीको समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी छन् ।
विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरिएकोमा तोकिएको समयमा देउवाको मात्र उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ ।
मनोनयन अघि बसेको काँग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
बैठकमा कांग्रेस वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन, बाँकी निर्वाचनमा पार्टीलाई अग्रता दिलाउने जिम्मेवारीसहित सभापति देउवालाई प्रस्ताव गरेका मुख्य सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।