
तनहुँको व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रूपमा पालेका स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ ।
दोस्रो भेरियन्ट सहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरूपमा बन्द हुँदा हाँस बिक्री नभएको हो ।
किसान पन्थले व्यास नगरपालिका–१३ को गुदीमा कडकनाथ कुखुरा २ हजार र टर्की ५०० पालेका छन् भने सोही वडाको पोखरीभञ्ज्याङमा २ लाख माछा र ८ हजार हाँस पालेका छन् । करीब १४ करोड रुपैयाँको लगानी गरी फार्म सञ्चालनमा ल्याइएको हो ।
झण्डै १४ करोडको लगानीमा निर्माण गरिएको सो फार्म सम्भवतः नेपालकै ठूला फार्म भएको दाबी गरिएको छ ।
उनले गाउँफर्क कृषि फार्म र युगिन कृषि फार्म प्रालि गरी २ वटा फार्म सञ्चालन गरी व्यावसायिक रूपमा अघि बढेका छन् । बन्दाबन्दीपश्चात दाना खुवाउन समस्या भएपछि सामाजिक सञ्जाल फेसबूकमा बिक्रीको लागि राखिएपछि दिनमा २० देखि २५ किलो ग्रामसम्म मासु बिक्री हुने गरेको छ ।
बन्दाबन्दीमा खुद्रा बिक्री गरेको हाँसको पैसाले हाँसलाई दाना खुवाउन समेत धौधौ हुन थालेको किसान पन्थले बताए । हाँसको मासु र अण्डाको लागि बिहान र दिउँसो माग लिएर बेलुका घरघरमा पुर्याइदिने गरिएको छ ।
‘दाना खुवाउन पनि समस्या हुन थालेपछि फुटकर भएपनि बिक्री गर्न थालिएको हो,’ उनले भने, ‘निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बिक्रीको लागि समस्या हँुदैन्थ्यो । होटल तथा रेस्टुरेन्टहरूमा लगेर बिक्री गर्न पाए धेरै सहज हुने थियो ।’
चितवनको भाटभटेनी सुपरमार्केटले केही शर्त सहितको सम्झौता गरी मापदण्ड अनुरूपको सबै कुरामा ठीक भई २ टन मासु तयार गरिसकेको अवस्थामा झ्याप्पै लकडाउन हुँदा समस्या खेप्नुपरेको छ ।