
घृणा र द्वैष फैलाउने गरी उच्चपदस्थ व्यक्तिका तस्वीरहरू फोटोशपमार्फत बिगारेर सामाजिक सञ्जाल फेसबूक लगायतमा भाइरल बनाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले कारवाहीको चेतावनी दिएको छ ।
ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले सोमवार अनुरोध गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य नगर्न अनुरोध गरेका छन् ।
कसैको चरित्र हत्या हुने गतिविधि गरेको पाइएमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारवाही हुने ब्युरोले जनाएको छ ।
पछिल्लो समय आफूलाई मन नपरेका व्यक्ति वा उच्चपदस्थ पदाधिकारीको तस्वीर बिगार्ने र टाउको जनावरसँग जोडेर भाइरल बनाउने प्रवृत्ति बढेपछि ब्युरोले कारवाहीको चेतावनी दिएको हो ।
